
काठमाडौं । अमेरिकाले ६ हजार भन्दा बढी विदेशी विद्यार्थीहरूको भिसा रद्द गरेको छ । बीबीसीका अनुसार अमेरिकी कानुन तोड्ने र तोकिएको समयभन्दा बढी बस्ने ६ हजारभन्दा बढी विदेशी विद्यार्थीहरूको भिसा रद्द गरिएको हो ।
यीमध्ये धेरैजसो मुद्दा मदिरा सेवन गरेर गाडी चलाउने, चोरी गर्ने र आतंकवादलाई समर्थन गर्ने गतिविधिसँग सम्बन्धित रहेको अमेरिकी विदेश मन्त्रालयलाई उद्धृत गर्दै बीबीसीले उल्लेख गरेको छ ।
जसमा ६ हजारमध्ये ४ हजार भिसा कानुन तोडेको आरोपमा र २०० देखि ३०० भिसा ‘आईएनए ३(बी) अन्तर्गत आतंकवादसँग सम्बन्धित मुद्दा’ मा रद्द गरिएको छ ।
यो कदमलाई ट्रम्प प्रशासनको कडा आप्रवासन नीति कार्यान्वयनको प्रतिफल भनिएको छ । यो नीति अन्तर्गत विदेशी विद्यार्थीहरूलाई समेत कडाइ गरिएको छ । विदेश मन्त्रालयले ‘आतंकवादलाई समर्थन’ भन्नाले के बुझिन्छ भनेर स्पष्ट गरेको छैन ।
ट्रम्प प्रशासनले प्यालेस्टाइनी समर्थनमा प्रदर्शन गर्ने केही विद्यार्थीहरूविरुद्ध पनि कारबाही गर्दै उनीहरूलाई यहुदी–विरोधी व्यवहार गरेको आरोप लगाएको छ ।











