Logo
Logo

‘उपसभामुखलाई महाभियोग लगाउने पक्षमा छैनौं’


2.1k
Shares

काठमाडौं । नेकपा एकीकृत समाजवादी पार्टीले आफूहरु उपसभामुखविरुद्ध महाभियोग लगाउने पक्षमा नरहेको बताएको छ ।
सांसद राजेन्द्र पाण्डेले आफुहरु उपसभामुखविरुद्ध महाभियोग लगाउने पक्षमा नरहेको बताएका हुन् ।

सत्तारुढ दल नेकपा एमाले र नेपाली कांग्रेसले फेरि एकपटक उपसभामुख इन्दिरा रानालाई महाअभियोग लगाउने तयारी गरेका छन् । सोही प्रयोजनका लागि एमालेले आफ्ना सांसदहरुबाट हस्ताक्षर समेत संकलन गरेको छ ।

संसदमा उपसभामुखविरुद्ध बहुमत पुर्याउन कांग्रेस, एमालेले नेकपा एससँग पनि सहयोग मागेको भन्ने समाचार सार्वजनिक भएपछि सांसद पाण्डेले वाहियात काममा पार्टी नलाग्ने प्रतिक्रिया दिएका हुन् ।

‘हामीलाई अहिलेसम्म कसैले सहयोग मागेको छैन । चर्चा पनि सुनिएको छैन,’ उनले भने, ‘यस्तो वाहियात काममा हामी लाग्दा पनि लाग्दैनौँ । सहयोग मागे पनि गर्दैनौँ ।’

उपसभामुख इन्दिरा राना मगरले अमेरिकाको भिसाका लागि लेटरप्याडमा सिफारिस गरेर मानव तस्करी गरेको आरोप लागेको थियो ।

उनलाई राजीनामा गर्न आग्रह गर्दा पनि नमानेपछि हस्ताक्षर अभियान सुरु गरिएको सांसदहरुको आकलन छ । तर हस्ताक्षरको बारेमा स्पष्ट पारिएको छैन ।

संविधानको धारा ९१ को उपदफा (६) को ग मा पद अनुकूल आचरण नगरेको भन्ने प्रस्ताव प्रतिनिधिसभाको तत्काल कायम रहेको सम्पूर्ण सदस्य संख्याको दुई तिहाई बहुमतबाट पारित भएमा सभामुख वा उपसभामुख पदमुक्त हुने व्यवस्था छ ।

प्रतिक्रिया दिनुहोस्