काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेस र एमालेले उपसभामुख इन्दिरा रानालाई पदबाट हटाउन सांसदहरूलाई हस्ताक्षर गराएका छन् । सिंहदरबाटस्थित संसदीय दलको कार्यालयमा बोलाएर एमाले-कांग्रेसले सांसदहरूलाई हस्ताक्षर गराएका हुन् ।

बिहानैदेखि सांसदहरू कार्यालयमा आएर धमाधम हस्ताक्षर गर्दै फर्किरहेका छन् । हस्ताक्षर दिउँसो दुई बजेसम्म चल्नेछ । रानाका विषयमा छलफल गर्न कांग्रेस र एमालेका नेताहरूबीच सोमबार साँझ बालुवाटारमा बैठक बसेको थियो ।
उपसभामुख रानामाथि अमेरिका लैजाने प्रयोगका लागि भिसा जारी गर्नका लागि अमेरिकी राजदूतावासमा आफ्नो लेटरप्याडबाट चिठ्ठी पठाएको अभियोग छ । यसअघि पनि रानामाथि हटाउने तयारी भएको थियो । तर विरोध भएका कारण यो प्रक्रिया अघि बढेको थिएन ।
एमाले नेता तथा पूर्वमन्त्री गोकुल बास्कोटाले पार्टीको निर्देशनअनुसार काम गरेको तर त्यसको विस्तृत जानकारी भने आफूलाई नभएको बताएका छन् । मङ्गलवार सिंहदरबारस्थित संसदीय दलको कार्यालयबाट बाहिरिने क्रममा सञ्चारकर्मीहरूको प्रश्नमा उनले संक्षिप्त र व्यङ्ग्यात्मक जवाफ दिएका हुन् ।
पत्रकारले ‘निर्देशन के थियो ?’ भनेर सोध्दा बास्कोटाले भने,’निर्देशनबमोजिम काम भयो, विस्तृत सूचना भने थाहा छैन ।’उनले सुरुमा संसदीय दलको कार्यालयमा आउन निर्देशन प्राप्त भएको र त्यसपछि प्रमुख सचेतकसँग भेट्न भनिएको खुलाए । ‘प्रमुख सचेतकज्यूसँग भेट्न भनिएको थियो, भेट भयो । उहाँले ‘ठीक छु भन्नुभयो, अनि निस्किएँ,’ उनले भने ।
भित्र के कुराकानी भयो भन्ने प्रश्नमा उनले हल्का शैलीमा जवाफ दिए । ‘के कुरा हुनुरु सञ्चो-बिसञ्चो, के-कस्तो छ भनेर सामान्य कुराकानी भयो,’ उनले हाँस्दै भने । विशेष छलफल भएको हो कि भन्ने प्रश्नमा उनले उक्त भेटलाई ‘बैठक नभई सामान्य भेटघाट’ मात्र भएको बताए ।














