काठमाडौं । पूर्वराष्ट्रपति तथा नेकपा (एमाले)की पूर्वउपाध्यक्ष विद्यादेवी भण्डारी मंगलबार दिउँसो विराटनगरको पाञ्चालीस्थित एमाले मोरङ जिल्ला पार्टी कार्यालय पुगेकी छन् ।
पार्टी केन्द्र र प्रदेश नेतृत्वले कार्यालयमा कुनै कार्यक्रम नगर्न निर्देशन दिए पनि भण्डारी कार्यालय पुगेकी हुन् । त्यहाँ उपस्थित कार्यकर्तालाई सम्बोधन गर्दै उनले आफ्नो राजनीतिक यात्राका अनुभव सुनाइन् ।

कार्यालय प्रवेशलगत्तै उनले एमालेका संस्थापक नेता पुष्पलाल श्रेष्ठ, पूर्वमहासचिव मदन भण्डारी र पूर्वप्रधानमन्त्री मनमोहन अधिकारीको सालिकमा माल्यार्पण गरिन् । नेताहरूको योगदान स्मरण गर्दै उनले कम्युनिस्ट आन्दोलनलाई जनताको पार्टी बनाउन सबैको भूमिका महत्त्वपूर्ण रहेको बताइन् ।
भण्डारीलाई जिल्ला कमिटी र विराटनगर महानगर कमिटीका नेताहरूले स्वागत गरेका थिए । उनले लामो अन्तरालपछि पहिलोपटक विराटनगर पार्टी कार्यालय आएको उल्लेख गर्दै स्थानीय तह पार्टी सङ्गठन मजबुत बनाउन निर्णायक हुने विचार राखिन् ।
तर, भण्डारीको आगमनका बेला भने अध्यक्ष केपी शर्मा ओली नेतृत्वको संस्थापन पक्षका नेता तथा कार्यकर्ताहरू कार्यालयमा देखिएनन् ।
उनीहरूलाई भण्डारी सहभागी हुने कार्यक्रममा नजान निर्देशन दिइएको केही नेताहरूले बताएका छन् । यस कारण कार्यालयमा भण्डारी पक्षको मात्रै उपस्थिति देखियो।
मोरङ जिल्ला र विराटनगर महानगर कमिटीमा भण्डारी पक्षको प्रभाव ठोस देखिने भएकाले उनको उपस्थितिमा स्थानीय नेताहरू उत्साहपूर्वक संलग्न भएका थिए । भण्डारीले आफू दुई पटकसम्म पार्टीको उपाध्यक्ष भइसकेकाले पुनः सदस्यता नवीकरण गरिएको पनि बताइन् ।
यसैबीच, नेकपा (एमाले) विराटनगर महानगर इन्चार्ज परशुराम बस्नेतले कुनै औपचारिक कार्यक्रम नगरिएको स्पष्ट पारेका छन् । सामाजिक सञ्जालमार्फत ‘आज जिल्ला कार्यालयमा कार्यकर्ता भेला हुने’ भन्ने प्रचार भए पनि पार्टीको कुनै तहबाट त्यस्तो निर्णय नभएको उनको भनाइ छ।
बस्नेतले सामाजिक सञ्जालमार्फत लेखेका छन्, ‘नेकपा एमाले केन्द्रीय, प्रदेश वा जिल्ला तहबाट कुनै पनि औपचारिक कार्यक्रम तय नगरिएको हुँदा त्यस्ता झुटा प्रचारप्रति नझुक्किन सबै नेता–कार्यकर्ता र पार्टीप्रेमीहरूलाई अनुरोध गर्दछु।’














