काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले आज काठमाडौंको थापागाउँ, लाखेचौर मार्गमा भाडामा लिइएको घरमा सम्पर्क कार्यालय उद्घाटन गर्दै छिन् । यो कार्यालयलाई औपचारिक रूपमा ‘मदन भण्डारी ७५औँ जन्मजयन्ती मूल व्यवस्थापन समिति’को कार्यालय भनिएको छ ।

समितिका संयोजक बागमती प्रदेशका पूर्वमुख्यमन्त्री डोरमणि पौडेल छन् भने भण्डारी संरक्षक रहेकी छन् । उद्घाटन आज दिउँसो २ बजे हुने छ । ७५ सदस्यीय यो समितिले जनताको बहुदलीय जनवाद (जबज) र मदन भण्डारीका विचारमा आधारित वर्षभरि विमर्श कार्यक्रम गर्ने योजना बनाएको छ ।
तर, नेकपा एमालेले भण्डारीको पार्टी सदस्यता नवीकरण नगर्ने र राजनीतिमा सक्रिय हुन रोक लगाउने निर्णय गरेपछि परिस्थिति फेरिएको छ । भण्डारी पक्षधरले यो कार्यालयमार्फत एमालेभित्र अन्तरसंघर्षको गतिविधि सञ्चालन गर्ने योजना बनाएका छन् ।
उक्त घरबाट २०४८ को निर्वाचनमा मदन भण्डारी र २०५० को उपनिर्वाचनमा विद्यादेवी भण्डारीले चुनावी अभियान चलाएका थिए । अहिले सोही घर भाडामा लिएर भण्डारीले राजनीतिक गतिविधि अघि बढाउने तयारी गरेको नेताहरूको भनाइ छ ।














