काठमाडौं । संसद्को शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक आज बिहान ९:३० बजे सुरु भएको छ । विद्यालय शिक्षा सम्बन्धी विधेयक-२०८० माथि छलफल गर्न बोलाइएको यो बैठक मूलतः बिहान ८ बजेका लागि तय भएको थियो, तर डेढ घण्टा ढिलो गरी सुरु भएको हो।

निजी विद्यालय सञ्चालकहरूको संस्था नेशनल प्याब्सन र प्याब्सनले विधेयकका केही प्रावधानप्रति असहमति जनाउँदै ५ बुँदे मागसहित आन्दोलनमा उत्रिएका छन् । यस्तै, नेपाल शिक्षक महासंघले पनि विधेयकमा समावेश गरिएका कतिपय प्रावधानप्रति आपत्ति जनाउँदै आन्दोलनको चेतावनी दिएको छ ।
यी दुवै पक्षको विरोध र मागका बीच आजको शिक्षा समितिको बैठकलाई विशेष चासोका साथ हेरिएको छ । विधेयकमा उठेका विवादास्पद विषयमा समितिले कस्तो निर्णय लिन्छ भन्ने कुराले आगामी दिनमा शैक्षिक क्षेत्रको दिशा निर्धारण गर्न सक्ने अनुमान गरिएको छ ।














