काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र)ले नेपालको भूमि लिपुलेक र कालापानीबारे भारत र चीनबीच भएको भनिएको सम्झौता र त्यसप्रति नेपालको सरकारको कदमबारे सदनमा स्पष्ट जानकारी दिन माग गरेको छ ।

प्रतिनिधिसभाको बिहीबारको बैठकमा आकस्मिक समयमा बोल्दै माओवादी प्रमुख सचेतक हितराज पाण्डेले दुई उक्त सम्झौताले नेपाललाई दुःखित बनाएको बताए । उनले नेपालको भूभागमाथि गरिएको दाबी चिर्न सरकारले के गरिरहेको छ भन्ने विषयमा आधिकारिक धारणा सदनलाई तत्काल दिनुपर्ने माग गरे। उनले भने, ‘देशको सार्वभौमिकता र अखण्डताको सवालमा सदनलाई जानकारी दिन सरकारले ढिलाइ गर्नुहुँदैन ।’














