तनहुँ । जिल्ला प्रशासन कार्यालय तनहुँका एसपी बीरेन्द्रबहादुर शाहीलाई प्रहरी प्रधान कार्यालयले साईबर ब्यूरोमा सरुवा गरेको छ । उनको सरुवापछि बिदाइ समारोहमा विवादित ठेकेदार बलबहादुर शाहीको निकै चुरीफुरी देखिएको थियो । एसपी शाहीको बिदाइका क्रममा ठेकेदार बलबहादुरले हात मिलाएको तस्वीर जिल्लाका ब्यबसायीमाझ चर्चामा छ ।

एसपी शाहीको आडमा बलबहादुरले तनहुँमा मापदण्डबिपरीत नदी दोहन गर्नेदेखि कर समेत छली गर्दैआएका थिए । क्रसर, नदी र खानीबाट बालुवा र ढुंगा दोहन गरी त्यसबापत तिर्नुपर्ने करसमेत नतिरेको र त्यसमा उनले प्रहरीबाटै संरक्षण पाएका थिए ।
स्थानीय तहलाई तिर्नुपर्ने करसमेत छली गरी नदीदोहन गरी टिफरमा बालुवा ढुंगा ओसारेकोबारेमा स्थानीयले प्रहरीमा गुनासो गर्दा समेत बेवास्ता गरी उन्मुक्ति दिने गरिएको थियो ।
गएको असारमा ब्यास नगरपालिका वडा नम्बर १३ बेलबासमा स्थानीयले भ्याटबिल बिनाका बालुवा, ढुंगा लोड भएका बलबहादुर शाही र पुष्प खनालका टिपर रोकेर प्रहरीलाई बोलाएका थिए । स्थानीयले घेराउ गरी रोकेका शाही र खनालका ट्याक्टर र टिपरको भ्याटबिल नभए पनि प्रहरीले बिना कारबाही छाडिदिएको थियो ।
देवघाट इप्रकामा दरबन्दी राखी घुमुवामा परिचालित असई सन्त रिमाल र कारागार कार्यालयमा दरबन्दी भएका हवल्दार भरत भुजेलले नै बलबहादुरलाई नदीदोहनदेखि करछलीमा सहजीकरण गर्ने गरेका थिए ।
ब्यास नगरपालिका वडा नम्बर ५ का पूर्ववडाध्यक्ष मोहनकुमार श्रेष्ठले पनि एसपी शाहीको बिचौलियाको रुपमा सेटिङका काम गर्दैआएको आरोप छ ।
विगत केही बर्षअघिदेखि श्रेष्ठ तनहुँका प्रमुख जिल्ला अधिकारी र एसपीका लागि सेटिङको काम गर्दैआएका थिए । पछिल्ला दिनमा एसपी शाहीका विश्वासपात्रका रुपमा उनी चिनिएका थिए । एसपी शाहीको सरुवासँगै नयाँ एसपीका रुपमा टेकबहादुर कार्की गएका छन् । उनले नदी दोहनदेखि लाइसेन्सको सेटिङ गर्नेहरुलाई संरक्षण गर्ने हुन् कि होइनन् भन्ने प्रश्न उठेको छ ।
त्यसो त अघिल्ला एसपी शाहीको पालामा घाँसीकुवामा भएको कुटाकुटमा घाइते भएका कमलेश ठकुरी अहिलेसम्म पनि बेपत्ता छन् ।
घाँसीकुवामा बलबहादुर शाही, बासु सापकोटा र खेम गुरुङको पार्किङमा राखेको गाडीलाई त्यहीँ अर्को टेबुलमा बसेर रक्सी खाइरहेका झापुटारका केटाहरुको बाइकले गाडी छेकिन पुगेको थियो । ए वन क्याफेबाट मदिरा खाएर फर्कने क्रममा घाँसीकुवामा उक्त घटना भएको थियो ।
गाडी छेकिएपछि ती बाइक हटाउन लगाउँदा भनाभन भई हात हालाहाल भएको थियो । जसमा ठकुरीको अहिलेसम्म अत्तोपत्तो छैन । उनको न लास न सास केही पनि भेटिन सकेको छैन । बलबहादुर शाही र बासु सापकोटा भागेर बच्न सफल भएका थिए । यही निहुँ बनाई खेम गुरुङका केटाहरुले २–३ दिनपछि ती झरापुटारका केटालाई खुकुरी हानेका थिए ।
यो ग्याङफाइट ३–४ पटकसम्म चलिरहेको छ । कहिले झापुटारका त कहिले खेम गुरुङको टोलीबीच हानाहान भएको छ । यही कुटाकुटको घटनामा कमलेश ठकुरी पनि परेका थिए । यो ग्याङफाइटको मुद्दा राजनीतिक दबाबमा गुपचुप बनाइएको छ । ठकुरी कहाँ छन्, झडपमा परी अहिलेसम्म ठकुरी गायब भए पनि यो विवादलाई राजनीतिक दबाबमा मिलाएर लैजान खोजिएको छ ।











