काठमाडौं । नेकपा (एमाले)का सचिव योगेश भट्टराईले बालबालिकाको अवैध ओसारपसारमा गठित आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गरेका छन् ।
बिहीबार प्रतिनिधिसभा बैठकको विशेष समयमा बोलेका भट्टराईले बालमन्दिरबाट बालबालिका हराउँदा तत्कालीन समयमा अहिलेकी उपसभामुख इन्दिरा राना अध्यक्ष रहेको संस्था ‘पीए नेपाल’ तानिएको बताए ।

तर, त्यसबेला गठित आयोगको प्रतिवेदन अझै सार्वजनिक नगरिएकाले सरकारले प्रतिवेदन सार्वजनिक गर्नुपर्ने उनको माग छ ।
सञ्चारमाध्यम र हल्लाको हवाला दिँदै उनले भने, ‘०७२ साल कात्तिक १७ गते बाल संगठनको सिफल बालगृहबाट पाँच जना बच्चाहरू हराउँछन् । ती बच्चाहरू कहाँ गए भनेर खोजी हुन्छ । त्यस सन्दर्भमा २०७२ माघ १८ गते सो कार्यालयका एकजना कर्मचारीले बाल कल्याण समितिमा दिएको बयानमा प्रिजनर्स असिस्टेन्ट नेपालका मानिसहरूले जबरजस्ती लिएर गएका छन् भनेका छन्, त्यो बेला प्रिजनर्स असिस्टेन्ट ‘पीए’ नेपालको कार्यकारी अध्यक्ष हालकी उपसभामुख इन्दिरा राना हुनुहुन्थ्यो ।’
उनले उच्च अदालतका न्यायाधीशको अध्यक्षतामा जाँचबुझ आयोग गठन भएको र त्यसले प्रतिवेदन बुझाएको भन्दै उक्त प्रतिवेदन तत्काल सार्वजनिक गर्न माग गरे ।
उनले भने, ‘त्यो प्रतिवेदनमा समेत पीए संस्था बालबालिका तस्करीमा संलग्न रहेको भन्दै कारबाही गर्न भनेर गाइँगुइँ समाचार आएको थियो, त्यो प्रतिवेदन सार्वजनिक गर्न सरकारसँग माग गर्दछु ।’
भट्टराईले उपसभामुखको विदेश भ्रमण पनि शंकास्पद रहेको बताए । ‘उहाँ उपसभामुख भएपछि १७ पटक विदेश भ्रमण गर्नुभएको छ । तर, सभामुखसँग सातपटकमात्र स्वीकृति लिएर विदेश भ्रमण गरेको देखिन्छ, यो विषयमा पनि छानबिन आवश्यक छ,’ उनले भने ।














