
काठमाडौं । जल तथा मौसम विभाग अन्तर्गतको बाढी पूर्वानुमान महाशाखाले आज देशका विभिन्न ४४ जिल्लामा बाढी आउने सम्भावना रहेको भन्दै सतर्क रहन आग्रह गरेको छ । महाशाखाले बुलेटिन जारी गर्दै विभिन्न जिल्ला भइ बहने खोला तथा नदीमा आकस्मिक बाढी आउने उच्च जोखिम देखिएको भन्दै नदी तटीय क्षेत्रमा सावधानी अपनाउन भनेको हो ।
जसमा आज सिन्धुपाल्चोक, धादिङ, लमजुङ, कास्की, म्याग्दी, गुल्मी, अर्घाखाँची, रुकुमपश्चिम, रुकुमपूर्व, डोटी, डडेलधुरा र आसपासका जिल्ला भई बहने ससाना नदीको पनि बहाव उल्लेख्य बढ्ने र जोखिम निम्तिने उच्च सम्भावना छ ।
त्यस्तै तापलेजुङ, संखुवासभा, ओखलढुंगा, खोटाङ, दोलखा, नुवाकोट, रसुवा, रामेछाप, काठमाडौँ, ललितपुर, भक्तपुर, काभ्रेपलाञ्चोक, तनहुँ, बागलुङ, गोरखा, पर्वत, रोल्पा, पाल्पा, रुपन्देही, कपिलवस्तु, जाजरकोट, दैलेख, कालिकोट, सल्यान, सुर्खेत, बाजुरा, हुम्ला, डोल्पा, बझाङ, बैतडी, दार्चुला, कैलाली, कञ्चनपुर र आसपासका जिल्ला भई बहने केही ससाना नदीको बहाब उल्लेख्य बढ्ने सम्भावना रहेको छ ।
आज बिहानको मापन अनुसार कोसी, नारायणी, बागमती, कर्णाली, महाकाली र यिनका सहायक नदीहरू तथा कन्काई, कमला, पूर्वी राप्ती, पश्चिम राप्ती र बबई नदीको बहाव सतर्कता तहभन्दा तलै छ तर बढ्ने सम्भावना छ । त्यसैले बाढीबाट हुनसक्ने क्षतिबाट बच्न आबश्यक सतर्कता अपनाउन महाशाखाले सचेत गराएको हो ।
















