काठमाडौं । साताको पहिलो कारोबार दिन नेप्से परिसूचक घटेर बन्द भएको छ । पछिल्ला दुई कारोबार दिनदेखि घटिरहेको नेप्सेले आज आइतबार पनि सोही क्रमलाई निरन्तरता दिएको हो ।

आइतबार नेप्से परिसूचक १८.०२ अङ्क घटेर २७३९.९५ विन्दुमा पूगेको छ । त्यस्तै, यस दिन सेन्सेटिभ इण्डेक्स २.८६ अङ्क घटेको छ भने फ्लोट इण्डेक्स १.३१ अङ्क र सेन्सेटिभ फ्लोट इण्डेक्स १.११ अङ्क घटेको छ।
नेप्से घटेपनि कारोबार रकम भने बढेको छ । अघिल्लो कारोबार दिन अर्थात् गत बिहीबार ५ अर्ब २ करोड रुपैयाँको सेयर खरिदबिक्री भएको बजारमा आइतबार ३२३ स्टकको ५८ हजार १०५ पटकको कारोबारमा ६ अर्ब ५४ करोड ८६ लाख ३८ हजार रुपैयाँबराबरको १ करोड ४० लाख ९ हजार कित्ता सेयर खरिदबिक्री भएको छ।
विकास हाइड्रोपावरको सेयर पनि सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । त्यस्तै, सिवाईसी नेपाल लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य ४.७४ प्रतिशतले बढेको छ । भने अन्य बढेका स्टकहरूको मूल्य वृद्धिदर ४ प्रतिशतभन्दा कम रहेको छ । कारोबारमा आएको नारायणी डेभलपमेन्ट बैङ्कको सेयर मूल्य यस दिन सर्वाधिक ७.२९ प्रतिशत घटेको छ ।
कारोबार रकमका आधारमा हिमालयन डिष्टिलरी लिमिटेड शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको १ अर्ब ७५ करोड रुपैयाँबराबरको सेयर कारोबार भएको छ । त्यस्तै, नेपाल पुनर्बीमा कम्पनीको करिब साढे २४ करोड रुपैयाँको सेयर किनबेच भएको छ भने हिमालयन रि इन्स्योरेन्सको कारोबार रकम २३ करोड रुपैयाँ नाघेको छ ।
१३ उपसमूहमध्ये १ उपसमूहको परिसूचक बढेको छ भने १२ उपसमूहको परिसूचक घटेको छ । उत्पादन तथा प्रशोधन उपसमूहको परिसूचक ०.०४ प्रतिशत बढेको छ। कारोबारमा आएको विकास बैङ्क उपसमूहको परिसूचक सर्वाधिक १.६७ प्रतिशत घटेको छ। त्यस्तै, यस दिन जलविद्युत उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी घटेको छ ।











