लन्डन । नेपाल विद्युत् प्राधिकरणका पूर्वकार्यकारी निर्देशक कुलमान घिसिङले बेलायतमा बसोबास गर्ने नेपालीहरूलाई उज्यालो नेपाल अभियानमा सहभागी हुन आह्वान गरेका छन् । लन्डन नजिकैको केम्प्टन पार्कमा तमु धिं युकेले आयोजना गरेको १६औँ नेपाली मेलालाई सम्बोधन गर्दै उनले यो अभियान बत्तीको उज्यालो मात्र नभई नेपालको समग्र विकासका लागि सुरु गरिएको बताए ।

उनले सबैलाई अभियानमा साथ र सहयोग गर्न अनुरोध गरे । खाडी मुलुक, अमेरिका र युरोपका विभिन्न देशको भ्रमणपछि बेलायत पुगेका घिसिङले २०७२ को संविधानमा गैरआवासीय नेपाली (एनआरएन) नागरिकताको प्रावधान समावेश भए पनि दश वर्षसम्म कानुन नबन्दा कार्यान्वयन हुन नसकेको बताए ।
उनले भने, ‘अब ढिलाइ नगरी यो प्रावधानलाई चाँडो कार्यान्वयन गर्नुपर्छ ।’घिसिङले सगरमाथा, गौतम बुद्ध र गोर्खा सैनिकले नेपाललाई विश्वमा चिनाएको उल्लेख गर्दै गोर्खा सैनिकका मागहरू यथाशीघ्र सम्बोधन गर्नुपर्नेमा जोड दिए । उनले ‘एकपटकको नेपाली सधैँको नेपाली’ भन्ने भावनालाई आत्मसात् गर्दै वंशजको नागरिकता निरन्तरताको विषयमा आफ्नो पूर्ण समर्थन रहेको बताए ।
हालैको एक अध्ययनले प्रवासी नेपालीले पठाएको एक डलरले नेपालको अर्थतन्त्रमा दुई डलरभन्दा बढी योगदान गरेको देखाएको उल्लेख गर्दै घिसिङले प्रवासी नेपालीहरू नेपालको महत्त्वपूर्ण सम्पत्ति भएको बताए । उनले एनआरएनलाई नेपालमा लगानीका लागि सहज वातावरण बनाउन र आवश्यक परे स्वदेश फर्कन तयार रहन आग्रह गरे ।














