काठमाडौं । नेपाल टेलिकममा बिलिङ घोटालाजस्तै कलर रिङ ब्याक टोन अर्थात् सीआरबीटीमो घोटाला फेला परेको छ । यो घोटालाको फाइल अख्तियारले तानेर अनुसन्धान बढाएको छ । ठेक्का निकालेर आफू अनुकूलको कम्पनीलाई मात्र दिलाउने गरी घोटोला खुलेको हो । तीन वर्षसम्म ठेक्का कसैलाई नदिई सीआरबीटीमा भारतको कनभिभा टेक्नोलोजी इन्डियालाई नै निरन्तरता दिने गतिविधि भयो ।

यसरी तीन वर्षसम्म विना ठेक्का विगतको कम्पनीलाई नै निरन्तरता दिएर घोटाला भयो । यो घोटालाबारे अख्तियारले फाइल तानेपछि नयाँ ठेक्का खोलेर साइफर टेक्नोलोजीलाई दिइएको छ ।
एसिया इन्फो बिलिङ घोटाला जस्तै ठेक्का अवधि सकिएपछि नयाँ ठेक्का कसैलाई नदिने र अघिल्लो कम्पनीलाई निरन्तरता दिने गतिविधि सीआरबीटीमा पनि पाइएको छ । यसमा १२ करोडको घोटाला भेटिएको विश्वस्त स्रोतले बताएको छ ।
ठेक्का सम्झौताको म्याद सकिएपछि नयाँ ठेक्का खोलेजस्तो गर्ने तर कसैलाई नदिई पुरानै कम्पनीलाई नै निरन्तरता दिएर कमिशन लिने संगिता पहाडीको शैली सीआरबीटीमा पनि पत्ता लागेको छ ।
उनी टेलिकमको नेतृत्वमा रहँदा यो चालबाजी भएको छ । अख्तियारले मुद्दा दायर गरेर विशेष अदालतमा धरौटी तिरेर निलम्बनमा रहेकी संगिताका अनेकन कर्तुतहरु भेटिन थालेका छन् । उनीमाथि विभिन्न घोटालाहरुमा फेरि अख्तियारले मुद्दा दायर गर्ने बुझिएको छ ।
सीआरबीटीमा अहिलेको कम्पनीले कुल आम्दानीको ७३ प्रतिशत नेपाल टेलिकमलाई दिने सम्झौता अनुसार ठेक्काबारे सूचना जारी गरिएको छ । यसअघिको कनकिभाले ५६ प्रतिशत दिने गर्दथ्यो । उसले तीन वर्षसम्म विगत ठेक्काकै निरन्तरता पाएर मुनाफा कमायो । यसको कमिशन टेलिकम नेतृत्वलाई मिलेको तथ्य उजागर भइसकेको छ ।
विना ठेक्का प्रतिष्पर्धा पुरानै कम्पनीलाई निरन्तरता दिएर गैरकानूनी तरिकाले कसरी पैसा तिरियो ? विना प्रतिष्पर्धा ठेक्का निरन्तरता पाएको कम्पनीलाई कसरी पैसा दिएको । रोचक त यो छ कि ठेक्का नखोली सिधै पुरानैलाई निरन्तरता दिने निर्णय संगिता पहाडी आफैबाट भएको छ । चिफ कमर्सियल अफिसबाट ठेक्का लम्ब्याउनुपर्नेमा प्रमुख प्राविधिक अधिकृतबाट निर्णय गराइएको छ । यसलाई अख्तियारले गम्भीरतापूर्वक लिएको बुझिएको छ ।
संगिता पहाडी र अमूल प्रधानले सीआरबीटी टेन्डर लम्ब्याउँदा घोटाला गरेको तथ्य खुलेको छ । अख्तियारको मुद्दाले दुवै निलम्बनमा छन् । अहिले सविना मास्के कार्यवाहक प्रबन्ध निर्देशक छिन् नाताले अमूलको पत्नी सविनाले नयाँ टेन्डर खोल्न लगाइन् ।
यसबीच ठेक्का निरन्तरता पाउने कम्पनीसँग कमिशनको खेलमा संगिताले कसरी गैरकानूनी धन आर्जन गरिन् भन्ने अख्तियारले छानविन बढाएको छ । सन् २०२१ मा ठेक्का सम्झौता सकिएको कम्पनी कनभिभा टेक्नोलोजीले सन् २०२५ को अगष्टसम्म पनि निरन्तरता नै पायो । योजनावद्ध तरिकाले कनकिभाबाहेक कुनै कम्पनी नआओस् भनेर कार्य गरियो । जालझेलपूर्ण तरिकाले भएको भ्रष्टाचारका कारण टेलिकमले ठूलो आम्दानी गुमायो ।











