रौतहट । रौतहटको माधवनारायण नगरपालिका–२ की २६ वर्षीया रुबीकुमारी साहको हत्या गौर नगरपालिका–५ स्थित एक घरमा भएको खुलेको छ । सो घरमा डेरागरी बसेका माधवपुरका लक्ष्मण पासवानले साहको हत्यापछि शव व्यवस्थापन गरेको प्रहरीको अनुसन्धानले देखाएको हो ।

उक्त शव ठेगान लगाउन पासवानले गौरको कबिर चोकबाट ई–रिक्सा बुक गरेका थिए । प्रहरी स्रोतका अनुसार उक्त ई–रिक्सामा शवसहितको सुटकेस बोकेर पासवान बरहवा पुल पारी पुगेका थिए । सोक्रममा उक्त ई–रिक्सा बिग्रिएपछि चालकले अर्को ई–रिक्सा बोलाउने प्रयास गरेको अनुसन्धानमा देखिएको प्रहरी स्रोतले बताएको छ ।
अहिले ई–रिक्सा चालक राजकुमार महरा प्रहरीको नियन्त्रणमा छन् । चालक महराले प्रहरीलाई बताएअनुसार सुटकेस बोकेका ती व्यक्तिले अर्को रिक्सामा जान इन्कार गरेका थिए । त्यसपछि पासवान सुटकेस लिएर पैदल नै अघि बढेको महराले प्रहरीलाई बयानका बताएका छन् ।
अनुसन्धानमा खटिएका एक प्रहरी अधिकृतका अनुसार गौर–५ को बालमन्दिर पछाडि रहेको एक घरमा साहको चप्पल लगायतका सामग्रीहरू फेला परेका छन् । उक्त घटनापछि पासवान सम्पर्कविहीन छन् । उनको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ ।














