Logo
Logo

डीजी र निर्देशक बिचौलियाका आदेशपालक, मालपोतका सरुवामा मनपरी


3.4k
Shares

काठमाडौं । निवर्तमान संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजकुमार गुप्ता ७८ लाख रुपैयाँ घुस डिल गरेको अडियो लिक भएपछि राजीनामा दिन बाध्य भएका छन् । बिचौलिया सुजन लामाले पोखराको लिचीबारी जग्गा दर्ताका लागि मालपोत कार्यालय कास्कीका प्रमुख रामचन्द्र अधिकारीको सरुवा रोक्न उक्त घुस डिल गरेका थिए ।

महानिर्देशक शिवप्रसाद रेग्मी र निर्देशक टेकराज अर्याल

बिचौलियाकै कारण मन्त्रीले राजीनामा दिनुपर्यो । तर सिंहदरबार र त्यस वरिपरिका निकायमा बिचौलियाको प्रभाव कम हुन सकेको छैन । सिंहदरबारबाट २ सय मिटर दूरीमा रहेको भूमि ब्यवस्थापन तथा अभिलेख बिभागमा बिचौलियाको बाक्लो उपस्थिति रहने गरेको छ ।

सो बिभागका महानिर्देशक शिवप्रसाद रेग्मी र निर्देशक टेकराज अर्याल बिचौलिया प्रमोद खड्काका कारिन्दा जस्ता भएका छन् । खड्काको प्रभावमा परी सरुवामा अर्थ संकलनमा लागेको आरोप महानिर्देशक रेग्मीमाथि लाग्ने गरेको छ ।

महानिर्देशक रेग्मी र निर्देशक अर्यालले काठमाडौं उपत्यका, पोखरा, बिराटनगर, झापा, चितवनका मालपोत कार्यालयमा कर्मचारीलाई सरुवा गर्नका लागि पनि खड्कासँग सहमति लिने गरेका छन् । अन्य मन्त्रालयको कर्मचारी सरुवा गर्दा सामान्य प्रशासन मन्त्रालयको सहमति लिएजस्तै भूमि ब्यवस्थापन बिभागका डीजी रेग्मी र निर्देशक अर्यालले बिचौलिया खड्काको सल्लाह लिने गरेको स्रोत बताउँछ ।

स्रोतका अनुसार बिभिन्न सहरका मालपोत कार्यालयमा कामु कार्यालय तोक्ने क्रममा पनि बिचौलिया खड्काले दामकाम मिलाएपछि मात्र अर्यालले प्रक्रिया अगाडि बढाउने र डीजी रेग्मीले सदर गर्ने गरेको आरोप छ । काठमाडौं उपत्यकाका मालपोत कार्यालयका खरिदार, नायबसुब्बाको सरुवाको पत्र भूमि व्यवस्था मन्त्रालयबाट आए पनि अर्यालले प्रमोदलाई सोधेर मात्र त्यसको टुंगो लगाउने गरिएको छ ।

गुप्ता सामान्य प्रशासन मन्त्री हुँदा २ बर्ष अवधि नपुगेका उपत्यकाका मालपोत कार्यालयका कर्मचारीको समेत मागेको नबुझाएपछि खड्काले सूची थमाएर अन्य कार्यालयमा सरुवा गराउँदैआएका थिए । र, सामान्य प्रशासन मन्त्रालयबाट कबोल गर्नेहरुलाई भूमि ब्यवस्था मन्त्रालयमा सरुवा गराउने गरेका थिए ।

भगवती न्यौपाने मन्त्री भएपछि उनले मन्त्रीतहबाट सरुवा गराउन सकेका छैनन् । तर गुप्ताको पालाको सेटिङ संजालमा रहेका कर्मचारी प्रशासन महाशाखाका प्रमुख पिताम्बर घिमिरे र कर्मचारी प्रशासन शाखाका भीमकान्त पौडेलमार्फत् मालपोतका सरुवा गराउन लागिरहेको स्रोतले बताएको छ ।

भीमकान्त पौडेल ललितपुर मालपोत कार्यालयको प्रमुख भइसकेकाले मालपोतका सरुवामा उनले बिचौलिया खड्कालाई भरपूर सहयोग गरिरहेका थिए । सामान्यमा मन्त्री न्यौपानेले अपारदर्शी सरुवा रोकेपछि पौडेल र खड्कालाई सकस परेको छ । तर भीमकान्तको खड्कासँग लेनदेनको कनेक्सन पुरानै भएकाले पनि उनी मालपोतमा सेटिङमा सरुवा गराउन सक्रिय छन् ।

बिचौलिया खड्काले मालपोतको स्तर हेरी कर्मचारीको रेट तोक्ने गरेका छन् । काठमाडौं उपत्यकाका मालपोत कार्यालय, पोखरा, बेलबारी, बिराटनगर, झापाको दररेट छुट्टाछुट्टै राखेका छन् । रेट तय भइसकेपछि खड्काले भूमि ब्यवस्थापन बिभागका निर्देशक टेकराज अर्याललाई सूची पठाउने गरेका छन् ।

मन्त्रालयले खटाउन निर्देशन दिएका कर्मचारीको बारेमा समेत बिचौलियालाई सोधेर मात्र बिभागका निर्देशक अर्यालले पत्र दिने गरेको आरोप छ । खड्काले उपत्यकाका मालपोत कार्यालयमा कर्मचारीलाई दररेट फिक्स्ड गरी सरुवा गराउने र कार्यालय प्रमुखलाई यो यो कर्मचारीलाई यी यी फाँट दिनू भन्ने आदेश नै दिने गरेको एक मालपोत अधिकृतले दृष्टिन्युजलाई बताए ।

कार्यालयमा कुन कर्मचारीलाई कुन फाँटमा खटाउने अधिकार सम्बन्धित कार्यालय प्रमुखको हो । तर बिचौलिया खड्काले कार्यालय प्रमुखकै अधिकारमाथि धावा बोलेर फलानोलाई यो फाँटमा राख्नू भनेर निर्देशन दिंदा राजपत्रांकित द्वितीय श्रेणीका अधिकृतको मनोबल नै गिर्न पुगेको छ । बिचौलियाले भने अनुसारका कर्मचारीलाई फाँट नदिने हो भने डीजीदेखि मन्त्रीलाई भनेर उनले सरुवा गराउने त्रासमा उनले भनेकै कर्मचारीलाई फाँट दिने गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्