काठमाडौं । डुबिसकेको नाडाको अटो शो फ्लाइङ कारको चर्चाले एकाएक माथि उठ्यो । नाइमाको अटो शो सफलतापछि नाजुक बनेको नाडाको अटो शोमा फ्लाइङ कारको चर्चाले सबैको ध्यान खिचेको थियो ।

ठूलो तामझामका बीच प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गरी यसको प्रशंसा समेत गरेका थिए । तर ‘फ्लाइङ कार’ वास्तवमा कार नभई उच्च क्षमताको ड्रोन रहेको बताइएको छ । फ्लाइङ कार हेर्नका लागि मात्रै प्रधानमन्त्री ओली नाडा अटो शो उद्घाटन गर्न गएका थिए । प्रधानमन्त्रीले ‘फ्लाइङ कार’ मुनि चक्का छ कि छैन भनेर प्राविधिक दृष्टिले पनि उक्त कार रुचिपूर्वक अवलम्बन गरेका थिए । तर उक्त फ्लाइङ कार कार नभई ड्रोन थियो । यसबारेमा प्रधानमन्त्री पनि ‘कन्फ्युज’ भएका थिए । उनलाई प्रदर्शनस्थलमा फ्लाइङ कार बताएर ‘उल्लु’ बनाइएको थियो ।
प्रधानमन्त्रीजस्तो व्यक्तिलाई झुक्याएर अटो शो उद्घाटन गर्न लगाउने आयोजकहरुको चतु¥याइलाई मान्नै पर्छ । अझ कतिसम्म भने उक्त ‘फ्लाइङ कार’ उडाउन नेपालमा कानुन निर्माण गर्नुपर्नेसम्मका सुझाव दिएका थिए ।
जानकारहरूले केही मिनेट मात्र उड्न सक्ने, तर सडकमा गुड्न नसक्ने उच्च क्षमताको ड्रोनलाई नाडाले फ्लाइङ कार भनेर चर्चामा ल्याएको बताएका छन् । त्यसपछि सामाजिक सञ्जालदेखि सवारीसाधन प्रयोगकर्ता समेतले यसबारे व्यंग र टिप्पणी गरेका छन् ।
वास्तविकतामा यो दुई जना मानिस बोक्न सक्ने र करिब १५ मिनेटसम्म मात्र उड्न सक्ने उच्च क्षमताको ड्रोन भएको जानकारहरूले बताए ।
विश्वमा उड्ने र गुड्ने दुवै क्षमता भएका वास्तविक फ्लाइङ कारहरू निर्माण भइसकेका छन् । तर त्यस्ता कार नेपालमा ल्याइएका छैनन् । नाडा अटो शोमा भने त्यसको नाममा टिकट बेचेर दर्शकलाई लोभ्याउने र बेवकुफ बनाउने चलखेल गरिएको भन्दै आलोचना भएको छ ।
तातोपानी नाका अवरुद्ध भएकाले भरिया लगाएर बोकेर नै सीमा तारिएको यो कारले नाडाको अटो शोमा ग्राहकलाई आकर्षित गर्न सफल भयो । नेपालका लागि डीपलका गाडी बिक्रेता कम्पनीले यो कार भित्र्याएको हो । यद्यपि, यो केवल शोकेस मात्रै हो ।
चांगन डीपलको उड्ने कार अटो शोमा प्रदर्शनी प्रयोजनका लागि मात्रै धरौटीमा ल्याइएको हो । प्रदर्शनीमा राखेपछि फेरि फिर्ता लैजानुपर्ने हुन्छ । चांगन अटोमोबाइलको सब–ब्रान्ड डीपलले बनाएको अटोनोमस फ्लाइङ कार नाडा अटो शोमा राखिएको हो । जसलाई इलेक्ट्रिक भर्टिकल टेकअफ एण्ड ल्यान्डिङ (इभीटीओएल) फ्लाइङ कार भनिन्छ । कार स्वचालिक रुपमा उडाउन मिल्छ ।
ईह्याङ वल्र्ड लिडिङ अर्बन एयर मोबिलिटी प्रविधिको प्लेटफर्म भएको कम्पनी हो । एयर मोबिलिटीमा प्यासेन्जर ट्रान्सपोर्टेसन र लजिस्टिक समावेश छ । कम्पनीले पाइलटविना उडान गर्न चीनको सिभिल एभियसन एडमिनिस्ट्रेसनबाट प्रोडक्सन सर्टिफिकेट र स्यान्डर्ड एयरवर्दीनेस सर्टिफिकेट लिएको छ ।
यसको उचाइ १.९३ मिटर र चौडाई ५.७३ मिटर छ । यसले ६२० केजी भार बोक्न सक्छ । एक पटकको फुल चार्जमा ३० किलोमिटरको रेन्ज प्रदान गर्ने कम्पनीले जनाएको छ । कारको स्पिड प्रति घन्टा १३० किलोमिटर छ ।
लामो समयदेखि अटोमोबाइल क्षेत्रको एकछत्र प्रभुत्व जमाउँदै आएको नाडा (अटोमोबाइल्स एसोसिएसन अफ नेपाल) यतिबेला इतिहासकै गम्भीर संकटमा पुगेको छ । अध्यक्ष चौधरीको अक्षमताको चपेटामा नाडा थप बिखण्डनको मोडमा पुगेको छ । जिल्ला प्रशासन कार्यालयमा भएको सहमति कार्यान्वयन नभएमा साधारणसभा नै प्रभावित हुने देखिन्छ । वरिष्ठ उपाध्यक्ष आकाश गोल्छालाई नेतृत्व सुम्पन तयार नभएकै कारण चौधरीले नियोजित रुपमा लफडा निकालेको आरोप नाडाका पदाधिकारीहरुले लगाएका छन् ।











