Logo
Logo

मन्त्रीले हैसियत बिर्सिए


2.9k
Shares

काठमाडौं । कम्युनिष्ट भनेपछि बल्लतल्ल सास फेर्न पाउने जिल्लाको रुपमा चिनिएको सोलुखुम्बूले ३० वर्षपछि कम्युनिष्ट सांसद पायो । सोलुले एमाले सांसदको रुपमा सिंहदरवार पठायो, मन्त्री बनायो । तर त्यो मन्त्री पद मानवीर राइका लागि केटाकेटीलाई खेलौना जस्तै भयो । यसो हुनुको पछाडी उनीमा रहेको अपरिपक्वता नै हो ।

राष्ट्रिय सुरक्षासँग जोडिएको संवेदनशील मन्त्रालयको जिम्मेवारी लिएका बेला मन्त्रालयमा सामान्य पार्टीका कार्यकर्ता भेटघाट बाहेक अर्को कुनै कार्यक्रम वा पार्टीगत बैठक बस्नु हुँदैन भन्ने जानकारी र ख्याल समेत राखेनन । उनी संभवत मन्त्रीपरिषदका सबैभन्दा सोझा मन्त्री हुन् । जिल्लामा पनि उनलाई सोझो नेताको रुपमा परिचय कमाएका थिए । तर उनी सोझा देखिएनन । मन्त्रालयमा सरकारी कार्यकक्षको प्रयोग गरेर पार्टीको बैठक राखेका छन् ।

रक्षा मन्त्री मानवीर राइले गत विहिबार दिउसो रक्षा मन्त्रालय भित्र पार्टीको बैठक सञ्चालन गरेका विभिन्न भावभंगीका तस्वीरहरु सार्वजनिक भए । पार्टीका नेताहरुले सगौरव तस्वीहरु सार्वजनिक गरे । उनीहरुलाई आफू रक्षा मन्त्रालयमा छु भन्ने कुनै ख्याल गरेनन ।बरु उनीहरुले मन्त्रालयभित्रै बैठक गरेकोमा गर्व गरेको देखियो ।

यो घट्नाले एमालेको नेतृत्व जिल्लामा मात्रै होइन सिंहदरवार र काठमाडौमा समेत आलोचित भएको छ । केन्द्रीय नेताहरुले पनि यस्तो काम नगर्न निर्देशन दिएका छन् । यसलाई विपक्षीहरुले राम्रो मसलाको रुपमा प्रयोग गरिरहेका छन् । जिल्लाका नेताहरुले यो घट्नालाई ३० वर्षमा जीत हासिल गरेको अब ३० वर्ष पछि धकेलिएको महसुस गरेका छन् ।

‘नेकपा (एमाले) सोलुखुम्बु जिल्ला कमिटीको बिस्तारीत एवम आठौ पूर्णबैठक केन्द्रीय कमिटी सदस्य, सोलुखुम्बु इन्चार्ज कमरेड किशोर अधिकारीको प्रमुख आतिथ्यता एवम केन्द्रीय सदस्य ,नेपाल सरकारका रक्षामन्त्री कमरेड मानबीर राइको आतिथ्यतामा बस्यो ।

कोशी प्रदेश कमिटीका सचिवालय ÷ सदस्य,प्रदेश सल्लाहकार परिषदका सदस्यहरु, कोशीप्रदेश बिभागीय सदस्यहरुको उपस्थितिमा, जनसङठन सन्यन्त्रका सदस्यहरू, निर्वाचित वडाध्यक्षहरु ,पालिका कमिटीका अध्यक्ष हरु सहित जिल्लाकमिटीका सदस्यहरु सहभागी हुनुभयो ।

जो जहाँ छौ त्यहीबाट भर्चुअल माध्यामबाट बैठकमा जोडिएर बैठक सम्पन्न भयो । यो हाम्रो लागि नया प्रयोग पनि थियो र सफल पनि भयो ।बैठकमा केन्द्रीय कमिटीबाट जारी अन्तर पार्टी निर्देशन १२.को जानकारी दिने लिने एवम कार्यनयन गर्ने यही भाद्र २०–२२ मा हुने दोस्रो बिधान महाधिवेशनमा प्रस्तुत गरिने केन्द्रीय कमिटीबाट प्राप्त बिधान संशोधन प्रस्ताव माथि छलफल र सुझाव सङ्कलन गर्ने कार्य गरि बैठक सम्पन्न भयो’, सोलुखुम्बू जिल्ला पार्टी अध्यक्ष डुफकुमार बास्तोलाले सामाजिक सञ्जालमा राखेका छन् ।

पार्टी अध्यक्ष बास्तालाले राखेको तस्वीरमा बैठक कक्ष मन्त्रालयकै भएको स्पष्ट देखिन्छ । स्रोतले जनाए अनुसार काठमाडौमा रहेका र जिल्ला पार्टी कार्यालय सोलुमा रहेकाहरुलाई भर्चुअल माध्यमबाट जोडिएको थियो ।

मन्त्री राइको कार्यकक्षसँगै रहेको बैठक कक्षबाट जिल्ला पार्टी कमिटीको बैठक सञ्चालन भएको थियो । ‘मन्त्रालय नै पार्टीको कार्याल्य बनाएकोमा रक्षा मन्त्रालय र नेपाली सेनाले समेत गम्भीर रुपमा लिइको छ’, स्रोतले भन्यो ।

स्रोतका अनुसार यो विषय पार्टीको माथिल्लो तहमा समेत छलफल भएको छ । साथै, नेपाली सेनाले यसलाई गम्भीर भएर छलफल गरेको स्रोतको दावी छ । बैठकमा प्रमुख अतिथि एमाले केन्द्रिय सदस्य एवं जिल्ला इन्चार्ज किशोर अधिकारी र विशेष अतिथि रक्षा मन्त्री मानवीर राई रहेका थिए । बैठकमा प्रदेश कमिटीका सदस्यहरु समेत रहेको बुझिएको छ ।

प्रतिक्रिया दिनुहोस्