Logo
Logo

एसबीआई बैंकको कमजोर अवस्था


630
Shares

काठमाडौं । नेपाल एसबिआई बैंक पछिल्लो समय गम्भीर वित्तीय र व्यवस्थापकीय समस्यामा फसेको संकेत देखिएको छ । विशेषतः बैंकको निष्क्रिय कर्जामा उच्च वृद्धि देखिएको छ ।

गत आवमा नेपाल एसबीआई बैंकको नाफा घटेको छ । बैंकले प्रकाशन गरेको आर्थिक वर्ष २०८१/८२ को वित्तीय विवरण अनुसार बैंकले सो आर्थिक वर्षमा १ अर्ब ८० करोड नाफा कमाएको हो । अघिल्लो आर्थिक वर्ष १ अर्ब ९९ करोड रुपैयाँ खुद नाफा कमाएको थियो । समीक्षा अवधिको बैंकको नाफा गत वर्षको भन्दा करिब ११ प्रतिशत घटेको हो ।

समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी ५ अर्ब २६ करोड बराबर गरेको छ । कमिसन तथा शुल्कतर्फको आम्दानी १ अर्ब २१ करोड गरेको बैंकले सञ्चालन तथा कर्मचारी खर्चमा झन्डै २ अर्ब ७३ करोड रुपैयाँ खर्चेको छ ।

१० अर्ब ९० करोड रुपैयाँ चुक्ता पुँजी रहेको यस बैंकको जगेडा कोषमा ८ अर्ब ४२ करोड रुपैयाँ सञ्चित छ । असार मसान्तसम्ममा बैंकले १ खर्ब ९९ अर्ब रुपैयाँ निक्षेप सङ्कलन गरी १ खर्ब ३५ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेको छ गरेको छ ।

बैंकको वितरणयोग्य मुनाफा १ अर्ब २३ करोड रुपैयाँ रहेको छ जुन प्रतिशेयर आम्दानी ११.२९ रुपैयाँ बराबर हो । बैंकको प्रतिशेयर आम्दानी भने १३.५४ रुपैयाँ रहेको छ ।

बैंकको निष्क्रिय कर्जा ३.३५ प्रतिशतमा पुगेको छ । अघिल्लो वर्ष यस्तो दर १.९७ प्रतिशत रहेको थियो । यसले बैंकले प्रवाह गरेका कर्जाको गुणस्तरमा गम्भीर कमजोरी देखिएको पुष्टि गर्छ ।

कर्जाको असुली दर घट्नु, परियोजना छनोट र स्वीकृतिमा निष्पक्षता नहुनु, र ठूला पहुँचवालाहरूलाई प्राथमिकता दिनुजस्ता कारक तत्वहरू यस अवस्थाको मूल कारणका रूपमा देखिन्छन् ।

बैंकले हालसम्म कराडौँ रकम कर्जा नोक्सानी प्रावधान छुट्याउनुपरेको छ, जसले झनै स्पष्ट गर्छ कि जोखिम व्यवस्थापन प्रणाली कमजोर हुँदै गएको छ । बैंकको व्यवसायबाट प्राप्त बढे पनि निष्क्रिय कर्जामा भएको वृद्धिका कारण खुद नाफा घटेको देखिएको छ ।

गत वर्ष इम्पेरिमेन्ट चार्जमा १ अर्ब २ करोड रुपैयाँ छुट्टाएको बैंकले यो वर्ष ६४ करोड रुपैयाँ छुट्टाएको छ । अघिल्लो आवमा भन्ददा केही कम देखिएपनि यो शुल्क कागजी रुपमा मात्रै कम रहेको जानकार बताउँछन् ।

जोखिममा रहेका ऋणीको संख्या बढ्दै जाँदा बैंकको नाफा र पुँजीमा समेत दबाब सिर्जना भएको देखिन्छ ।
बैंकको पुँजीकोष अनुपात १३.०३ प्रतिशत, कस्ट अफ फण्ड ५.१८ प्रतिशत, बेसरेट ६.२९ प्रतिशत र ब्याजको स्प्रेडदर ३.५२ प्रतिशत रहेको छ ।

वित्तीय कमजोरीसँगै, बैंकको नेतृत्व र मानव संसाधन व्यवस्थापनमा देखिएको असन्तुलनले आन्तरिक संकटलाई झन गहिरो बनाएको छ। हालै विकास आनन्दलाई नायब प्रमुख कार्यकारी अधिकृत नियुक्त गरिएको छ । बैंकका प्रमुख कार्यकारी अधिकृत राम कुमार तिवारी छन् ।

नेपाल एसबिआई बैंक भारतीय स्टेट बैंकको सहकार्यमा सञ्चालित भएको बैंक हो । यद्यपी यस बैंकले स्वतन्त्र रुपमा आफ्नो काम गर्न नसकेको टिप्पणी हुँदै आएको छ । नेपाल एसबिआई बैंकमा भारतीय स्टेट बैंकको ५५ प्रतिशत सेयर स्वामित्व छ । त्यसकारण पनि यस बैंकमा भारतीय पक्षकै दवदवा र दबाब रहने गरेको छ ।

प्रतिक्रिया दिनुहोस्