Logo
Logo

वाङको दिल्ली यात्राको तरंग


567
Shares

काठमाडौं । भारत र चीनबीचको सम्बन्ध रोचक तरिकाले सुमधुर भएको छ । यो वर्ष एकपछि अर्को गरी भएका भ्रमणहरुले विगतमा युद्ध लडिसकेका दुई देश नजिकिएका छन् । यसै हप्ता चिनियाँ विदेशमन्त्री वाङ ई भारत भ्रमणमा गए । उनले भारतका प्रधानमन्त्री नरेन्द्र मोदीलाई निवासमै भेटी चीन भ्रमणको निम्तो दिए । वाङले चिनियाँ राष्ट्रपति सी चिनफिङले मोदीलाई चीन भ्रमणका लागि पठाएको निम्तो पनि दिए । मोदीले भ्रमणको निम्तोलाई स्वीकार गरे ।

मोदीले भारत र चीनको सीमा क्षेत्रमा शान्ति र स्थायित्वमा जोड दिए । उनले सीमा समस्याको समाधानका लागि भारतका तर्फबाट जायज र स्वीकार्य प्रतिवद्धता व्यक्त गरे । उनले सामाजिक सञ्जाल एक्समा लेख्दै रुसको काजानमा गत वर्ष सी चिनफिङसँग भेटबारे उल्लेख गर्दै सांघाई कोअपरेशनको समिटमा हुने साइडलाइन वार्ताका लागि प्रतिक्षारत रहेको उल्लेख गरेका छन् ।

भारत र चीनबीचको स्थायी, आशावादी र रचनात्मक सम्बन्धले क्षेत्रीयका अलावा विश्व शान्ति र समृद्धिका लागि सार्थक योगदान गर्न सक्ने लेखेका छन् ।

संसारको सबैभन्दा बढी जनसंख्या भएका भारत र चीनबीचको सम्बन्धले विश्व राजनीतिलाई नै प्रभावित पार्न थालिसकेको छ । यी दुई देशबीचको सम्बन्धले नेपाल राजनीतिक र आर्थिक क्षेत्रलाई प्रभावित पार्दछ । यसकारण पनि भारत र चीनबीचको सम्बन्ध नेपालका लागि उत्तिकै महत्वपूर्ण हुन्छ ।
दोक्लाम द्वन्द्व हुँदै लद्दाख क्षेत्रमा भएको झडपले क्षेत्रीय राजनीतिलाई निकै प्रभावित पा¥यो । भारत र चीनबीच पाँच वर्ष टकराव चल्यो । सिधा हवाई उडान नै रोकियो । अहिले दुवै देश सिधा उडान सुचारु गर्ने तयारीमा छन् ।

चिनियाँ विदेशमन्त्री वाङसँगको भेटमा आर्थिक, व्यापार, जनता जनताबीचको सम्बन्ध, कनेक्टिभिटी, तीर्थयात्रा, नदीसम्बन्धी डाटाको आदानप्रदानलगायका विषयमा कुराकानी भएको जयशंकरले लेखेका छन् ।

यी सबै घटना भारत र चीनलाई अमेरिकाले एकसाथ कर बढाउने र दबाबमा राख्ने रणनीति बनाएबाट विकास भएको हो । भारतलाई त अमेरिकाले रुसी तेल खरिद नगर्न दबाब दियो । यो घटनाले भारतलाई चीनसँग झन् नजिक बनायो ।

गत वर्ष रुसको काजानमा मोदीले सीलाई भेटेपछि सम्बन्धमा ‘आइसबे्रक’ भएको थियो । त्यसपछि उच्च स्तरको भेट हुन थाल्यो । भारतका राष्ट्रिय सुरक्षा सल्लाहका अजित दोभाल चीन गए । त्यसपछि रक्षामन्त्री राजनाथ सिंह अनि विदेशमन्त्री एस जयशंकर पुगे । यो हप्ता वाङ दिल्ली पुगेर उच्चस्तरको भेट गरेपछिको अर्को उच्चस्तरीय भ्रमण मोदीको हुँदैछ । उनी सांघाई कोअपरेशन अर्गनाइजेशनको अगष्ट ३१ र सेप्टेम्बर १ मा हुने बैठकका लागि बेइजिङ जाने निश्चित भएको छ । उनी सात वर्षपछि चीन जाँदैछन् । यो घटनालाई विश्वले चासोका साथ लिएको छ ।

विश्वको दोस्रो धनी चीन र चौंथो धनी भारत जनसंख्याका हिसाबले पनि ठूलो हुन् । सैन्य र प्रविधिको विकासमा निकै प्रगति हासिल गरेका यी दुई देशको सम्बन्धले विश्व राजनीतिको मार्ग समेत निर्धारण गर्न थालेकाले पनि पछिल्ला भेटहरु महत्वपूर्ण भएका छन् । भारत र चीनबीचको सम्बन्ध सुमधुर हुँदा नेपालमा पनि सकारात्मक प्रभावहरु देखिने आशा गर्न थालिएको छ ।

प्रतिक्रिया दिनुहोस्