Logo
Logo

तिन दिनदेखि आन्दोलनमा उखु किसान


252
Shares

काठमाडौं ।  उखु किसानहरूले सरकारविरुद्धको आन्दोलनलाई तेस्रो दिन पनि निरन्तरता दिएका छन् । सरकारले उखु किसानलाई प्रदान गर्दै आएको अनुदान रकममा कटौती गरेको निर्णयको विरोधमा उनीहरूले प्रदर्शनलाई तीव्र बनाएका हुन् ।

The current image has no alternative text. The file name is: ukhu-kishan.gif

सरकारले बजेट अभावको कारण देखाउँदै उखुको अनुदान रकम प्रतिक्विन्टल ७० रुपैयाँबाट घटाएर ३५ रुपैयाँ कायम गर्ने निर्णय गरेपछि किसानहरू आन्दोलित भएका छन् । यो निर्णयले आफूहरूको जीविकोपार्जनमा गम्भीर असर पारेको भन्दै उनीहरूले सोमबार काठमाडौंको सडकमा उखु बोकेर प्रदर्शन गरेका थिए ।

उखु उत्पादक महासङ्घको नेतृत्वमा सिरहा, महोत्तरी, सर्लाही, रौतहट, बारा, पर्सा र नवलपरासीका किसानहरू आन्दोलनमा सहभागी छन् । किसानहरूले सरकारसँग अनुदान रकम कटौती गर्ने निर्णय तत्काल फिर्ता लिई पुरानै दरमा प्रतिक्विन्टल ७० रुपैयाँ अनुदान उपलब्ध गराउन माग गरेका छन् । 

उनीहरूले माग पूरा नभएसम्म आन्दोलन जारी राख्ने अडान लिएका छन् ।  किसानहरूले  सरकारले आफ्नो पसिना र मेहनतको मूल्यलाई बेवास्ता गरिरहेको  बताएका छन् । 

उखु उत्पादक महासङ्घले सरकारको यो कदमले किसानहरूको आर्थिक अवस्था थप कमजोर हुने चेतावनी दिएको छ । उनीहरूले सरकारले किसानमैत्री नीति अवलम्बन नगरे कडा आन्दोलन गर्ने बताएका छन् ।

काठमाडौंको माइतीघर मण्डलालगायतका क्षेत्रमा यो प्रदर्शनले स्थानीय यातायात र दैनिकीमा समेत प्रभाव पारेको छ । किसानहरूले सरकारसँग तत्काल वार्ता गरी समस्याको समाधान खोज्न आग्रह गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्