काठमाडौं । गोरखापत्रमा छापिएको लेखको विरोधमा उत्रिएका सन्तोष कुमार सिलवाल पक्राउ परेका छन् । काठमाडौंको माइतीघर मण्डलाबाट प्रहरीले सन्तोष राजावादी भनिने सन्तोष कुमार सिलवाललाई प्रहरीले पक्राउ गरेको थियो ।

उनी गत चैत १५ गते काठमाडौंको तीनकुनेमा भएको राजावादी समूहको हिंसात्मक आन्दोलनको क्रममा पनि पक्राउ परेका थिए ।
गोरखापत्रमा मङ्गलवार ‘निरहार व्रतले स्वास्थ्यमा प्रतिकूल असर’ शीर्षकमा लेख लेखिएको थियो । उनले उक्त लेखको विरोध गर्दै पत्रिका च्यात्ने र जलाउन खोजेपछि प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी अपीलराज बोहराले जानकारी दिए ।
सन्तोषलाई दिउँसो २ बजेर २५ मिनेटमा नियन्त्रणमा लिइएको हो । उनलाई नियन्त्रणमा लिएर परिसरमा राखिएको छ । धादिङको सितले गाउँपालिका-४ स्थायी घर भएका सन्तोष काठमाडौंको कलङ्कीमा बस्दै आएका छन् ।














