
एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गरेका लगातार चार फोन कल भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले नउठाएको खुलासा भएको छ । जर्मन अखबार एफएजेडले यो खबर सार्वजनिक गरेको हो । यद्यपी ट्रम्पले मोदीलाई कहिले फोन कल गरे भन्ने खुलाइएको छैन ।
अखबारका अनुसार, मोदी ट्रम्पको आक्रामक व्यापार नीति र भारतलाई ’मृत अर्थतन्त्र’ भनेकोमा रिसाएका छन् । पहिले दुई नेताहरूबीच राम्रो सम्बन्ध थियो, तर अहिले भारतले अमेरिकासँग व्यापार सम्झौताको लागि वार्ता रद्द गरेको छ । अमेरिकी प्रतिनिधिमण्डललाई नयाँ दिल्ली आउनबाट रोकिएको समाचारमा उल्लेख छ ।
ट्रम्पले भारतमा कुल ५० प्रतिशत कर लगाएका छन्, जसमध्ये २५ प्रतिशत कर जरिवानाको रूपमा लगाइएको छ, जुन अगस्ट २७, अर्थात् आजदेखि लागू भएको छ । ट्रम्प भन्छन् कि ’भारतले रूसी तेल खरिद गर्दा पुटिनलाई युक्रेन विरुद्ध युद्ध जारी राख्न मद्दत गरिरहेको छ ।’
ट्रम्पको उक्त कदमपछि भारत र चीन नजिकिएका छन् । मोदीको चीन भ्रमण मिति सार्वजनिक भइसकेको छ भने दुई देशबीच सीमा व्यापार, सीमा वार्ता र हवाई सेवा सञ्चालनमा सहमति भएको छ ।
मोदी र ट्रम्पको सम्बन्ध बिग्रिएकोबारे अमेरिकाका दक्षिण एसिया विश्लेषक माइकेल कुगेलम्यानले लेखेका छन, ‘ट्रम्पले पटकपटक मोदीलाई सम्पर्क गर्ने प्रयास गरे तर मोदीले उहाँसँग कुरा गर्न चाहेनन् भन्ने हालका खबरहरू सत्य भएमा, सरकार–सरकारबीचको सम्बन्ध र एक समय बलियो मानिएको नेताहरूबीचको सम्बन्ध दुवै सङ्कटमा परेको छ । यसले संयुक्त राष्ट्र महासभाको छेउमा हुने सम्भावित भेटको सम्भावनालाई पनि राम्रो देखाउँदैन ।’











