Logo
Logo

बर्डफ्लू रोकथामका लागि सीमा क्षेत्रमा उच्च सतर्कता


504
Shares


कञ्चनपुर । बर्डफ्लु भित्रिन नदिन कञ्चनपुरको सीमा क्षेत्रमा उच्च सतर्कता अपनाइएको छ ।

भारतको उत्तराखण्ड राज्यका बागेश्वर र उधमसिंह नगरलगायतका जिल्लामा सङ्क्रमण देखिएपछि सीमा क्षेत्रमा कडाइ गरिएको हो ।

भेटेरीनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र कञ्चनपुरका पशु विकास अधिकृत शिवराज भट्टका अनुसार भारतसँग जोडिएका दोधारा–चाँदनी, पुनर्वास, बेलौरी, बेलडाँडी र भीमदत्त नगरपालिकाका– ९ र १० मा विशेष सतर्कता अपनाइएको छ । पक्षी तथा पक्षीजन्य पदार्थ सीमापार व्यापार गर्न नपाइने व्यवस्था गरिएको , यदि अवैध रूपमा ल्याइएमा पशु स्वास्थ्य तथा पशु सेवा ऐन २०५५ अनुसार कानुनी कारबाही हुने जानकारी दिए ।

बर्डफ्लू नियन्त्रण समितिका संयोजक तथा प्रमुख जिल्ला अधिकारी लक्ष्मण ढकालको अध्यक्षतामा बसेको बैठकले सीमावर्ती नाका हुँदै पक्षी तथा पक्षीजन्य सामग्री आयातमा पूर्ण प्रतिबन्ध लगाउने निर्णय गरेको हो । साथै, किसान, व्यापारी, आपूर्तिकर्ता, जनप्रतिनिधि र स्थानीय तहलाई सचेतना कार्यक्रममार्फत जानकारी गराउने तयारी छ ।

भट्टका अनुसार, रोकथामका लागि भेटेरीनरी अस्पताल, पशु सेवा विज्ञ केन्द्र, पशु क्वारेन्टाइन कार्यालय र सुरक्षा निकायका टोलीले आकस्मिक अनुगमन गर्ने व्यवस्था मिलाइएको बताए ।

बर्डफ्लू सङ्क्रमणबाट बिरामीमा उच्च ज्वरो आउने, टाउको दुख्ने, खोकी लाग्ने, घाँटी दुख्ने, श्वास फेर्न गाह्रो हुने लक्षण देखिन्छन् । गम्भीर अवस्थामा निमोनिया, स्वासप्रश्वासको समस्याले बिरामीको मृत्युसमेत हुनसक्छ ।

प्रतिक्रिया दिनुहोस्