Logo
Logo

बालुवाटारमा नेताहरुसँग ओलीले भने- एमालेमा आएर विद्या भण्डारी अध्यक्ष हुन असम्भव


3k
Shares

काठमाडौं । नेकपा एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाडौंका केन्द्रीय सदस्यसहित बागमतीका नेता र विधान महाधिवेशन प्रतिनिधिलाई काठमाडौं बोलाएर निर्देशनात्मक प्रशिक्षण दिएका छन् । बुधबार साँझ नेताहरुलाई बालुवाटार बोलाएर ओलीले आफू र पार्टीको निर्णयको पक्षमा उभिन निर्देशन दिएका हुन् ।

जिल्ला कमिटी काठमाडौंका अध्यक्ष दीपक निरौलाले ओलीको भनाइ सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेका छन् । नेता निरौलाका अनुसार ओलीले आफ्नो अधिकांश मन्तव्य पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी र उनको पक्षमा उभिएका नेता लक्षित गरेका छन् । २०५४ सालदेखिको पार्टी फुटको प्रसंग उप्काउँदै ओलीले अनेक आरोह अवरोधबीच पार्टी अहिलेको अवस्थामा आएको उनको भनाइ थियो ।

केही नेताले पूर्वराष्ट्रपति भण्डारीको फोटो राखेर धन्दा गरिरहेको ओलीले टिप्पणी गरेका थिए । निरौलाका अनुसार अध्यक्ष ओलीले भने, ‘च्यासलले सदस्यता खायो भन्नुहुन्छ उहाँ । सदस्यता खाएको छैन । उहाँले पार्टीमा निवेदन दिनुभएको छैन । प्रक्रिया पनि मिलेन ।’

उनले भने, ‘तपाईँ पार्टी चलाउन सक्नुहुन्न मलाई सहयोग गर्नु भन्नुभयो । मैले भ्रममा नरहनु तपाईँसँग अनुभव छैन भने । चुनाव लड्ने त ?’ उनले राष्ट्रपति भएको व्यक्तिले अशोभनिय गतिविधि गर्नु नहुने बताउँदै भण्डारीले पार्टीको पक्षमा नरहेकालाई भेला गर्दै हिँडेको पनि आरोप लगाए ।

एमालेमा आएर भण्डारी अध्यक्ष हुन असम्भव रहेको प्रष्ट्याउँदै ओलीले सबै नेता आ–आफ्नो योग्यताले यहाँसम्म आइपुगेको बताउँदै भने, ‘तपाइँसँग एमाले हाँक्ने, अनुभव छैन भ्रममा नपर्नुस् । उहाँले चुनावै लड्ने भन्नुभयो । एमालेमा चुनाव लड्नुपर्दैन भनेर जवाफ दिएँ ।’ ओलीको यो भनाइ पूर्वराष्ट्रपति भण्डारीप्रति लक्षित थियो ।

उनले आफूले जति सम्मान विद्यालाई अरुले नगरेको दावी गर्दै अहिले भने, ‘म नै अहिले अपमानित हुनुपर्ने ?’ ओलीले अगाडि थपे, ‘घरिघरि त म सपनामा छु कि जस्तो लाग्छ । मैले जति उहाँलाई कसले साथ दिएको छ । उहाँले छाडे सबै मिल्छ । व्यक्ति ठूलो कुरा कुरा होइन, आन्दोलन बचाउनुपर्छ । विद्या भण्डारी हाम्रो सम्पत्ति हो ।’ यद्यपि, उनले जबज परिवारको सम्पत्ति नभएको भन्दै जबज फाउण्डेशनले नबचाउने पनि बताए ।

साथै, अध्यक्ष ओलीले ईश्वर पोखरेल, विनोद ढकाललगायतका नेताको नामै लिएर भण्डारीलाई कतिपयले उचाल्ने काम गरिरहेको आरोप लगाए । ‘अभागीलाई खाने बेलामा रिस उठ्छ । उहाँ कहाँ पुग्नुहुन्छ ? बाटो बिराएर हिँड्नुभएको छ’ ओलीको भनाइ थियो, ‘विनोद ढकाल ९औं महाधिवेशनमा मलाई सहयोग गर्ने प्रमुख पात्र नै हुन् । विधानबारे कर्णले गलत कुरा गरे ।’

उनले विधान महाधिवेशनमा आफूले सही विचार प्रस्तुत गर्ने भन्दै फरक मत कसैले राखिरहन नपर्ने प्रष्ट पारे । ओलीले भने, ‘यो इतिहास हो । इतिहासको रूपमा आउँछ । यो नीतिको रूपमा आउँछ । एकदिन दस्ताबेज प्रस्तुत हुन्छ, एकदिन छलफल र अर्को दिन समापन हुन्छ ।’ उनले विधान महाधिवेशन एकताको अधिवेशन हुने बताए ।

उमेर हद र २ वर्षे कार्यकालको विषयमा ओलीले भने, ‘साथीहरूको आम चाहना र समयको माग र म स्वस्थ रहेको हुँदा कार्यकाल र ७० वर्ष आवश्यकता रहेन ।’ सोक्रममा उनले रवि लामिछानेदेखि राजेन्द्र लिङ्देनसम्मको प्रसंग कोट्याएका थिए ।
निरौलाका अनुसार ओलीले भने, ‘रवि लामिछानेलाई मैले बनाएको हो । राजेन्द्र लिङदेनले अब झापामा जितेको हेरौ न, हिजो पो हामीले सहयोग गरेका थियौं ।’

प्रतिक्रिया दिनुहोस्