
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई सक्रिय राजनीतिमा फर्किने बाटो आफूले खोलिदिएको दाबी गरेका छन् ।
आज विराटनगरमा पत्रकारहरुसँग कुरा गर्दै उनले आफूले पूर्व उपराष्ट्रपति नन्दबहादुर पुन ‘पासाङ’लाई राजनीतिमा ल्याएपछि विद्यादेवी भण्डारीलाई पनि राजनीतिमा आउन बाटो खुलेको दाबी गरेका हुन् ।
‘मैले पहिला पूर्व उपराष्ट्रपति जीलाई पार्टीको सक्रिय राजनीतिमा ल्याइसकेपछि त्यसले कहीँ न कहीँ प्रत्यक्ष या परोक्ष विद्याजीलाई ढोका खोल्दिएकै छ,’ उनले भने ।
पूर्वराष्ट्रपति र उपराष्ट्रपतिलाई सक्रिय राजनीतिमा आउन संविधानले नरोक्ने पनि बताए । उनले भने, ‘हाम्रो संविधानले ऐनले कानुनले कसैले पनि राष्ट्रपतिलाई सक्रिय राजनीतिमा नआउनु भनेको पनि छैन, कुनै पार्टी राजनीतिमा नआउनु भनेको पनि छैन ।’
नेकपा एमालेले राष्ट्रपति भएका व्यक्ति सक्रिय राजनीतिमा फर्कन नहुने भन्दै विद्याको पार्टी सदस्यता नवीकरण नगर्ने निर्णय गरिसकेको छ । प्रचण्ड भने पूर्वराष्ट्रपति र उपराष्ट्रपति राजनीतिमा फर्कनु सामान्य भएको बताउँछन् ।














