विराटनगर । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल–भारत सीमा समस्या समाधानका लागि भारतीय पक्षसँग सिधा कुरा गर्ने पहिलो प्रधानमन्त्री आफू भएको दाबी गरेका छन् ।

विराटनगरमा कोशी प्रदेश समिति सचिवालय बैठकलाई सम्बोधन गर्दै उनले कालापानी र लिपुलेकजस्ता सीमा विवादबारे भारतका प्रधानमन्त्री नरेन्द्र मोदीसँग गम्भीर छलफल गरेको बताए । ‘मेरो नेतृत्वमा नेपाल–भारत सीमा समस्या संवादबाट समाधान गर्ने सार्वजनिक घोषणा भएको छ,’ उनले भने ।
प्रचण्डले आफ्ना सकारात्मक प्रयासबारे जनतालाई जानकारी गराउन कार्यकर्ताहरूलाई आग्रह गर्दै उपलब्धिहरू नबोल्दा विकृति आउने बताए । उनले पार्टीभित्र वैचारिक अराजकता र अनुशासनहीनताले सङ्गठनमा चुनौती खडा भएको उल्लेख गरे ।
समाजवादको तयारीका लागि ठूलो वैचारिक बहस र राजनीतिक सङ्घर्ष आवश्यक रहेको प्रचण्डको भनाइ छ । पार्टी विभाजनपछि फर्किएका नेताकार्यकर्तालाई स्वागत गर्नुपर्नेमा जोड दिँदै उनले उनीहरूलाई होच्याउने वा हेला गर्ने कार्य नगर्न निर्देशन दिए । प्रदेश नेताहरूका सुझावलाई गम्भीरतापूर्वक लिँदै पार्टीले आगामी चुनौती सामना गर्नुपर्ने उनले बताए ।














