काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको लिम्पियाधुरा र लिपुलेकबारे भारत र चीनले गरेको व्यापार मार्ग सम्झौताको विषयमा आवाज उठाउने बताएका छन् । संसद् भवन परिसरमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले यो मुद्दा उच्चस्तरीय भेटमा अवश्य उठ्ने बताए ।

मन्त्रिपरिषद्को शुक्रवारको बैठकले ओलीको भदौ १४ देखि १८ गतेसम्मको चीन भ्रमण स्वीकृत गरेको छ । चिनियाँ राष्ट्रपति सी चिनफिङको निमन्त्रणमा उनी सांघाई सहयोग सङ्गठन (एससीओ) शिखर सम्मेलनमा भाग लिन तियान्जिन जाँदै छन् ।
भ्रमण टोलीमा श्रीमती राधिका शाक्य, शिक्षामन्त्री रघुजी पन्त, पर्यटनमन्त्री बद्रीप्रसाद पाण्डे, कांग्रेस उपसभापति पूर्णबहादुर खड्का, आर्थिक सल्लाहकार डा। युवराज खतिवडा, सांसद् छविलाल विश्वकर्मालगायत छन् । एससीओ सम्मेलन भदौ १५ र १६ मा तियान्जिनमा आयोजना हुँदै छ, जसको उद्घाटन राष्ट्रपति सीले गर्नेछन्। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसहित अन्य राष्ट्रप्रमुख पनि सहभागी हुनेछन् ।
ओलीले राष्ट्रपति सी र उपराष्ट्रपति हान झेङसँग भेटवार्ता गर्नेछन् । साथै, उनले एससीओ प्लस शिखर सम्मेलनलाई सम्बोधन गर्ने र जापानी आक्रमणविरुद्ध चीनको प्रतिरोध युद्धको ८०औँ वार्षिकोत्सव कार्यक्रममा सहभागी हुने कार्यक्रम छ ।














