काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडले गत आर्थिक वर्ष २०८१/८२ को मुनाफाबाट आफ्ना सेयरधनीहरूलाई ८ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ।

बैंकको सञ्चालक समितिको शुक्रबार बसेको बैठकले सेयरधनीहरूलाई ४ प्रतिशत बोनस सेयर र कर प्रयोजनसहित ४ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो। यो प्रस्ताव नेपाल राष्ट्र बैंकको स्वीकृति र बैंकको आगामी वार्षिक साधारण सभाबाट पारित भएपश्चात् कार्यान्वयनमा आउनेछ।
माछापुच्छ्रे बैंक गत आर्थिक वर्षको मुनाफाबाट लाभांश घोषणा गर्ने पहिलो वाणिज्य बैंक बनेको छ। यो घोषणाले लगानीकर्ताहरूमा उत्साह थप्ने अपेक्षा गरिएको छ। बैंकले हाल देशभर ६२ वटा शाखा, ४ वटा एक्स्टेन्सन काउन्टर र १४ शाखारहित बैंकिङ सेवामार्फत ग्राहकहरूलाई सेवा प्रदान गर्दै आएको छ। साथै, बैंकका ८६ वटा एटीएम सञ्चालनमा छन्।











