Logo
Logo

हिरासतमा अभियुक्तको मृत्यु, रौतहटका एसपी पनि संकटमा


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, १८ भदौ ।
हत्या घटनाका आरोपीको प्रहरी यातनाबाट मृत्युको घटनामा रौतहटका एसपी रविराज खड्का समेत संकटमा परेका छन् । उनकै निर्देशनमा अभियुक्तलाई यातना दिइएको अनुसन्धानमा खुलेको छ ।

निरञ्जन रामको घाँटी रेटी हत्या भएको घटनाको पक्राउ परेका विजय महराको मृत्यु भएको थियो । उनलाई इलाका प्रहरी कार्यालय गरुडाले अनुसन्धान गरेको भएपनि यातना भने जिल्लाको प्रहरी टोलीले दिएको थियो ।
े हत्या घटनामा इलाका प्रहरी कार्यालय गरुडाका प्रहरी निरीक्षक (इन्स्पेक्टर) केदारमान दोङलाई अनुसन्धान अधिकृत तोकिएको थियो । तर जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक (एसपी) रविराज खड्काको निर्देशनमा इन्स्पेक्टर नवीनकुमार सिंह र हवल्दारद्वय हिरोजमिया धुनिया र मन्नुकुमार सिंहले सोधुपुछको क्रममा कुटपिट गरेको थियो । तीनै प्रहरी निलम्बनमा परीसकेका छन् । प्रहरी कार्यालयमा धर्ना दिइरहेका मृतकका आफन्तले एसपी खड्कामाथि समेत कारबाहीको माग गरेका छन् । इलाका प्रहरी कार्यालय गरुडाका तत्कालीन डीएसपी ज्ञानकुमार महतोलाई इन्चार्जबाट हटाइसकिएको छ ।

संघर्ष समिति नै गठन गरेर स्थानीयले यतीबेला प्रहरीविरुद्ध आन्दोलन गरिरहेका छन् । पूर्व सांसद बिसेन्द्र पासवान समेत धर्नामा बसेका छन् ।

प्रारम्भिक अनुसन्धानमा यातना दिएको पुष्टि भएकाले तीन प्रहरी निलम्बनमा परेका हुन् । अहिलेको कानूनी अवस्थाअनुसार यातना दिंदा मुद्दा चल्ने अवस्था छ । त्यसकारण यो घटनाले प्रहरीलाई ठूलै धक्का दिने देखिन्छ ।

प्रतिक्रिया दिनुहोस्