काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली शाङ्घाई सहयोग सङ्गठन (एससिओ) शिखर सम्मेलनमा भाग लिन चीन पुगेका छन् । शनिवार बिहान प्रस्थान गरेका ओली दिउँसो थियानजिन शहर पुगेका हुन्, जहाँ उनलाई चीनका उच्च अधिकारीहरू र नेपालका लागि चिनियाँ राजदूत चेन सोङले स्वागत गरे ।

प्रधानमन्त्रीले आजै चिनियाँ राष्ट्रपति सि चिनफिङसँग भेटवार्ता गर्ने कार्यक्रम छ । २३ सदस्यीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै ओलीले सेप्टेम्बर १ मा तियान्जिनमा आयोजित शिखर सम्मेलनलाई सम्बोधन गर्नेछन् ।
उनले सेप्टेम्बर ३ मा बेइजिङमा आयोजित ८०औँ वार्षिकोत्सव स्मृति कार्यक्रममा सहभागिता जनाउनेछन्। सो अवसरमा उनले विभिन्न विश्व नेताहरूसँग पनि भेटवार्ता गर्ने तय भएको छ ।














