Logo
Logo

रुपन्देही-३ उपनिर्वाचन : रास्वपाका आकांक्षीहरु नख्खु पुगे, आज उम्मेदवार सार्वजनिक गर्दै


882
Shares

काठमाडौं । रुपन्देही–३ को उपनिर्वाचनका लागि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वा)का आकांक्षीहरुले पार्टी सभापति रवि लामिछानेलाई भेट्न नख्खु पुगेका छन् । पार्टीले उम्मेदवार घोषणा गर्नुअघि आकांक्षीहरू लामिछानेलाई भेट्न ललितपुरस्थित नख्खु कारागार पुगेका हुन् ।

लामिछाने सहकारी ठगी प्रकरणमा पुर्पक्षका लागि थुनामा छन् । भैरहवा कारागारमा रहेका उनलाई केही समयअघि मात्रै नख्खु सारिएको थियो ।

रास्वपाले आकांक्षीमध्येबाट आज एकजना उम्मेदवार घोषणा गर्दैछ । सचिवालय बैठक बस्ने र बैठक लगत्तै उम्मेदवार घोषणा गर्ने तयारी रास्वपाको छ । उम्मेदवार घोषणा हुनु पहिले नै उनीहरुले सभापतिलाई भेटेका हुन् ।

रास्वपाबाट रुपन्देही–३ मा उम्मेदवार बन्न ९ जना आकांक्षी रहेका छन् । पार्टीले ७ देखि २१ साउनसम्म उम्मेदवार बन्न आवदेन माग गरेकोमा ९ जना छनोट भएका थिए ।

छनोट भएका आकांक्षीमा पार्टी केन्द्रीय सदस्य कुसुम महर्जन, रुपन्देही–३ का क्षेत्रीय सभापति मधु अर्याल, अमेरिकाबाट हालै मात्र फर्किएका बुटवल सेमलारका सुलभ खरेल, पार्थिवेन्द्र उपाध्याय, डा. लेखजंग थापा, ज्ञानु पौडेल, कोटहीमाईका जीतबहादुर गुप्ता, रचना क्षेत्री र पुनम कुमारी अग्रवाल छन् । कुसुम, मधु, सुलभ र जितबहादुरबाहेक ५ जना भैरहवाका हुन् ।

रुपन्देही–३ बाट निर्वाचित राप्रपाका दीपक बोहराको निधन भएपछि कात्तिक १७ गते निर्वाचन आयोगले उपनिर्वाचन गर्न लागेको हो ।

प्रतिक्रिया दिनुहोस्