Logo
Logo

प्रधानमन्त्री ओलीले भियतनामी प्रधानमन्त्री र माल्दिभ्सका राष्ट्रपतिसँग भेटवार्ता गर्दै


315
Shares

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले दुई एसियाली मुलुकका राष्ट्राध्यक्ष तथा सरकार प्रमुखसँग तियान्जिनमा भेटवार्ता गर्ने भएका छन् । सांघाई कोअपरेसन अर्गनाइजेसन (एससीओ) को शिखर सम्मेलनको क्रममा चीन भ्रमणमा रहेका प्रधानमन्त्री ओलीले भियतनामी प्रधानमन्त्री र माल्दिभ्सका राष्ट्रपतिसँग भेटवार्ता गर्ने भएका हुन् ।

एससीओ राष्ट्रका राष्ट्राध्यक्ष तथा सरकार प्रमुखहरूका लागि चिनियाँ राष्ट्रपति सी चिनफिङले आयोजना गर्ने रात्रिभोजअघि प्रधानमन्त्री ओलीले भियतनामका प्रधानमन्त्री फाम मिन्ह चिन्ह र माल्दिभ्सका राष्ट्रपति मोहम्मद मोइज्जुसँग भेटवार्ता गर्ने ओलीको सचिवालयले जनाएको छ ।

जानकारी अनुसार, चिनियाँ समय अनुसार अपरान्ह ४ बजे प्रधानमन्त्री ओली र भियतनामी प्रधानमन्त्री फामबीच तियान्जिनस्थित होटल क्राउन प्लाजामा भेटवार्ता हुनेछ । दुई प्रधानमन्त्रीबीच भेटवार्ताका लागि आधा घण्टा समय तय गरिएको छ ।

भियतनामका प्रधानमन्त्रीसँगको भेटपछि प्रधानमन्त्री ओलीले दक्षिण एसियाली मुलुक माल्दिभ्सका राष्ट्रपति मोहम्मद मुइज्जुसँग भेटवार्ता गर्नेछन् । साँझ ५ बजे हुने यो भेटवार्ता पनि आधा घण्टा अवधिको र होटल क्राउन प्लाजामै हुनेछ ।

चिनियाँ राष्ट्रपति सी चिनफिङ र प्रथम महिला पेङ लिउआनले साँझपख एससीओ शिखर सम्मेलनमा निम्त्याइएका राष्ट्राध्यक्ष तथा सरकार प्रमुखहरूको स्वागतमा रात्रिभोज आयोजना गरेका छन्।

साँझ ७ बजे सुरु हुने सो रात्रिभोजमा प्रधानमन्त्री ओली पत्नी राधिका शाक्य र प्रतिनिधिमण्डलका बाँकी ६ सदस्यसहित उपस्थित हुनेछन्।

प्रतिक्रिया दिनुहोस्