काठमाडौं । प्रहरीले काठमाडौं महानगरपालिका–३५ चमतीबाट ३८ सय थान भेप (विद्युतीय चुरोट)सहित तीन जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–१ घर भएका ४० वर्षीय निमा छिरिङ शेर्पा, मेलम्ची नगरपालिका–७ का ५२ वर्षीय रामबहादुर गुरुङ र सोलुखुम्बुको थुलुङ गाउँपालिका–४ का ४२ वर्षीय कृष्णबहादुर गुरुङको प्रहरीले जनाएको छ । उनीहरूलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले सोमबार साँझ पक्राउ गरेको हो ।

पक्राउ परेकाहरू भरियामात्र रहेको पाइएको अपराध अनुसन्धान कार्यालयका एसपी तथा प्रवक्ता काजिकुमार आचार्यले बताए । उनका अनुसार उनीहरूले रमेश श्रेष्ठको घरको भुइँ तलाको कोठामा उक्त भेप भण्डारण गरेर राखेको पाइएको छ । भन्सार छलेर उक्त भेप चीनबाट नेपाल भित्र्याइएको प्रहरीले जनाएको छ ।
पक्राउ परेकाहरुलाई भेपसहित राजश्व अनुसन्धान विभाग हरिहर भवन पठाउन लागिएको प्रहरीले जनाएको छ ।














