Logo
Logo

चिनीको चास्नीमा डुबे एसपी


14.2k
Shares

काठमाडौं । रौतहटमा ६ सय बाेरा चिनी गायब पारेको उजुरीपछि सशस्त्र प्रहरी मूख्यालयले त्यहाँका एसपीलाई हेडक्वार्टर तानेर राखेको छ । त्यसैगरी डिएसपी र एक इन्स्पेक्टरलाई नसियत दिएको छ । अर्का एक डिएसपीलाई पनि हेडक्वार्टर तानेको छ । यो विषयमा सशस्त्र प्रहरी बलको सूचना शाखाले नै औपचारिक जानकारी गराएको छ ।

सशस्त्र प्रहरी बल नेपालका इकाईहरूमा कमाण्डरको रुपमा खटाइएका सशस्त्र प्रहरी अधिकृतहरूको राजश्व संकलन र कार्यसम्पादनमा कमजोरी भेटिएपछि एकै पटक एसपीसहित १६ जना अधिकृतलाई जिम्मेवारीबाट हटाइएको उल्लेख गरेको छ । प्रधान कार्यालयले १ एसपी, १ डिएसपी, ७ इन्स्पेक्टर, ६ सई र १ असई गरी १६ जनालाई कमान्डको जिम्मेवारीबाट हटाएको जनाएको हो ।

सशस्त्र प्रहरी बल, नेपाल नं. ११ गण रौतहटका गणपति सशस्त्र प्रहरी उपरीक्षक सन्तोष कुमार बस्नेतलाई कमाण्डरबाट फिर्ता गरेर सशस्त्र प्रहरी उपरीक्षक रामहरी अधिकारीलाई पठाइएको छ ।

यसैगरी बारा जिल्लास्थित सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट कबहीगोठका सशस्त्र प्रहरी निरीक्षक जीवनलाल बुढा, बिओपी झिटकैया बाराका सशस्त्र प्रहरी नायव निरीक्षक केदार बहादुर परियार, फरवार्ड सुरक्षा वेश बलिरामपुरका सशस्त्र प्रहरी नायव निरीक्षक हरि प्रसाद लम्साल, फरवार्ड सुरक्षा वेश छतवा बाराका सशस्त्र प्रहरी नायव निरीक्षक गणेश गिरी र झरखोर पोष्ट बाराका सशस्त्र प्रहरी सहायक निरीक्षक शिव शंकर प्रसाद चौधरीलाई जिम्मेवारीबाट हटाइएको हो ।

यस्तै पर्सा जिल्लास्थित बोर्डर आउट पोष्ट प्रसौनी भाठ्ठाका सशस्त्र प्रहरी निरीक्षक सन्जीव बानीया क्षेत्री, बिओपी दक्षिण झिटकैयाका सशस्त्र प्रहरी निरीक्षक नरेश सुवाल बाटा, सुरक्षा वेश बहुअर्वाभाठाका सशस्त्र प्रहरी नायव निरीक्षक भिम बहादुर क्षेत्री र फरवार्ड सुरक्षा बेश जयमंगलापुरका सशस्त्र प्रहरी नायव निरीक्षक झक्कु प्रसाद ओलीलाई पनि जिम्मेवारीबाट हटाइएको छ ।

यसैगरी पश्चिम नवलपरासी जिल्लास्थित बोर्डर आउट पोष्ट भुजहवाका सशस्त्र प्रहरी निरीक्षक रुपक नापीत र कैलाली जिल्लास्थित प्रस्तावित सीमा सुरक्षा गुल्म खोनपुका सशस्त्र प्रहरी नायव उपरीक्षक नविन चन्द, बोर्डर आउट पोष्ट कुसुमघाटका सशस्त्र प्रहरी निरीक्षक रामशरण विष्ट, बिओपी फुलबारीका सशस्त्र प्रहरी निरीक्षक खगेन्द्र बहादुर चन्द, बिओपी लल्लिपुरका सशस्त्र प्रहरी नायव निरीक्षक मोहन राम मोहर र कञ्चनपुर जिल्लास्थित बोर्डर आउट पोष्ट डोकेबजारका सशस्त्र प्रहरी निरीक्षक सूर्य प्रकाश पन्तलाई समेत जिम्मेवारीबाट हटाइएको हो ।

सशस्त्र प्रहरी बलका सहप्रवक्ता शैलेन्द्र थापाले जनाए अनुसार सीमा इलाकामा कार्यरत कमाण्डरहरुलाई मुख्यालयबाट समेत सूक्ष्म रुपमा निगरानी बढाइएको छ । सन्तोषजनक काम नगर्ने गणपति सहितका दर्जनौँ अधिकृतहरू यसअघि पनि समय नपुग्दै जिम्मेवारीबाट हटाइएका र कारबाहीमा समेत परेका छन् । मुख्यालयले अन्य प्रदेशमा समेत सुक्ष्मरुपमा निगरानी बढाएको छ । गण, गुल्म तथा बिओपी कमान्डमा रहेका केही अधिकृतमाथि पनि निगरानी बढाइएको छ ।

प्रतिक्रिया दिनुहोस्