काठमाडौं । अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले नेपाल र बङ्गलादेशका राष्ट्रिय फुटबल टोलीबीच हुने मैत्रीपूर्ण खेलको तयारी अन्तिम चरणमा पुगेको जनाएको छ ।

एन्फाले सोमबार दशरथ रङ्गशालामा पत्रकार सम्मेलनमार्फत भाद्र २१ र २३ गते हुने खेलको तयारी पूरा भएको जानकारी दिएको हो । एन्फा प्रवक्ता सुरेश शाहका अनुसार, दशरथ रङ्गशालामा फिफा इन्टरनेसनल विन्डोअन्तर्गत यी दुई खेल हुनेछन् ।
प्रतियोगिताको मार्केटिङ र डिजिटल अधिकार एड रिलिज प्राइभेट लिमिटेडलाई प्रदान गरिएको छ भने खेलको प्रत्यक्ष प्रसारण डिस होमको एक्सन स्पोर्ट्स एचडीमार्फत हुने उनले बताए। टिकट बिक्रीको अधिकार एन्फा आफैँले राखेको छ ।
टिकट मूल्य भीआईपी पारापिटका लागि १,००० रुपैयाँ र सामान्य पारापिटका लागि ५०० रुपैयाँ तोकिएको शाहले जानकारी दिए । बङ्गलादेशको टोली बुधवार नेपाल आइपुग्ने उनले उल्लेख गरे । यी खेलका लागि अनुमानित बजेट करिब १ करोड २७ लाख ५८ हजार रुपैयाँ रहेको एन्फाले जनाएको छ ।











