Logo
Logo

एसपीको गम्भीर लापारबाही


17.7k
Shares

काठमाडौं । रौतहटका एसपी र डिएसपीलाई तानेर कारवाही प्रकृया चलिरहेका बेला सशस्त्र प्रहरी मूख्यालयले तस्करी नियन्त्रणका लागि जति कडाई गरेको देखिदा पनि मातहतका अन्य निकाय भने उति छाडा भएका छन् ।

रौतहटको चिनी काण्डले सशस्त्र मूख्यालयमा हलचल पैदा भएका बेला पूर्वका जिल्लाहरुमा भारतसँग सीमा नाका जोडिएको मोरङ जिल्लामा तस्करी बढेकाे भन्दै गृहमन्त्रालय र सशस्त्र प्रहरी मुख्यालयमा उजुरी परेको छ ।

सशस्त्र प्रहरीको मिलेमतोमा कपडा अबैध चोरी पैठारी र हुुण्डीको कारोबारी मौलाएको उजुरी परेको छ । साथै, राजश्व अनुसन्धान विभागले केही समय अघि मोरङका एक गोदाममा छापामारी करोडौंको कपडा बरामद गरेपछि सशस्त्र प्रहरीको निगरानी कमजोर भएको होकि मिलोमतो रहेको भन्ने खुल्न सकेको छैन ।

राजश्व अनुसन्धान विभाग पुल्चोकबाट खटिएको टोलीले मातहतको इटहरी कार्यालयमार्फत राजश्व छली गरेको आशंका गर्दै विराटनगर महानगरपालिका वडा ११ मा रहेको स्वस्तिका ट्रेड एण्ड सप्लायर्समा छापा मारेपछि सशस्त्र प्रहरीका जिल्लास्थित प्रमुख एसपी राजेश घिमिरेमाथि प्रश्न उठेको छ ।

वर्षौंदेखि कपडाको कारोबार गर्ने सप्लायर्सको गोदाममा भन्सारबाट आयात परिमाण भन्दा बढी मालवस्तु आयात गरी स्टोर गरिएको भन्ने सूचनाका आधारमा उक्त सप्लायर्समा छापा मारिएको राजश्वका अधिकारीहरूको भनाई छ । राजश्वले गत साता सबै गोदामहरू सिल गरी भारतबाट आयात गरि राखिएका सटिङ्गसुटिङका महंगा कपडासहित विभिन्न थरीका अन्य कपडाहरू गोदाममा भएकाले गोदाम सिल गरेको थियो ।

स्रोतका अनुसार मोरङलगायतका कोशी प्रदेशका सीमा नाकाबाट सशस्त्र प्रहरीको मिलेमतोमा तस्करहरूले व्यापक मात्रामा तस्करीका सामान वारपार गर्न थालेका छन् । यसबाट दैनिक करोडौंको राजश्व छली त भएकै छ, सीमा सुरक्षामा पनि गम्भीर चुनौती देखा पर्न थालेको छ ।

मोरङबाट अहिले हुण्डी, सट्टेबाजी, जुवा, सुनचाँदी तथा कपडा, खाद्यान्न, रक्सी र गिट्टी बालुवा लगायतको तस्करी फस्टाएको बताइएको छ । मोरङको पूर्वी क्षेत्रको मुख्य सीमा नाकाहरु हेर्ने रंगेली, डुमरिया र सिजुवाबाट तस्करी हुने गरेको छ । यी तीनै क्षेत्रबाट चिनीको बढी तस्करी हुँदैआएको छ ।

चिनीदेखि हार्डवेयर, किराना लगायतको तस्करी पनि हुने गरेको छ । मोरङ भारतसँग ६३ दशमल ४ किलोमिटर खुला सिमाना रहेको जिल्ला भएका कारण पनि यहाँबाट बढी तस्करी हुने गरेको स्रोतको दावी छ ।

राष्ट्रिय सुरक्षामा महत्वपूर्ण भूमिका निर्वाह गर्न सीमा अतिक्रमण, अन्तर्राष्ट्रिय आतंकवादी समूहको घुसपैठ, अवैध हतियार र गोलीगट्ठा तथा विष्फोटक पदार्थको ओसारपसार नियन्त्रण सशस्त्रको प्राथमिकतामा रहेपनि तस्करीका सामान छुटाउन थालेपछि राष्ट्रिय सुरक्षामै असर पर्ने भन्दै गृहमन्त्रालयले गम्भीर चासो राखेको छ ।

लागुऔषधको ओसारपसार, जडीबुटी तथा वन पैदावारको ओसारपसार, मानव बेचबिखन, मानव तस्करीजस्ता मानवताविरुद्धका अन्तरदेशीय अपराध नियन्त्रणमा सशस्त्रले महत्वपूर्ण भूमिका निर्वाह गर्नुपर्नेमा तस्करीमा सामान छाड्न थालेपछि यसबारेमा गम्भीर ध्यानकर्षण भएको गृहमन्त्रालयका एक अधिकारीले बताए । ‘मोरङको उजुरीलाई हामीले चासो राखेका छौ’, ती अधिकारीले भने ।

प्रतिक्रिया दिनुहोस्