Logo
Logo

पहुँचवाला उपसचिव कन्सुलर बन्दै…


2.6k
Shares

काठमाडौं । उद्योग, बाणिज्य तथा आपूर्ति मन्त्रालयमा लाभैलाभको पद लिने र दर्जनौं पटक विदेश सयर गरेका उपसचिवहरु बाणिज्य दूत (कन्सुलर)का लागि सिफारिस भएका छन् । सुदूरपश्चिम घर भएकै कारण उपसचिवद्वय दिपेश लेखक र लीलाधर अधिकारीलाई कोलकाता र जेनेभाको कन्सुलर(बाणिज्य) बनाउन लागिएको छ ।

करिब १० दिनअघि उपसचिवद्वय दिपेश लेखक र लीलाधर अधिकारीलाई कन्सुलरमा पठाउनकै लागि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले उद्योग मन्त्रालयबाट परराष्ट्र मन्त्रालयमा सरुवा गरिसकिएको छ ।

केही दिनभित्रै जेनेभा र कलकत्तामा कन्सुलर रिक्त हुँदैछन् । रिक्त नहुँदै ती नियुक्तिका लागि लेखक र शर्मा परराष्ट्रमा लगिएका छन् । लेखकले डब्लुटीओ शाखा हेर्दैआएका थिए । त्यसका अतिरिक्त उनले बालाजुमा अवस्थित राष्ट्रिय उत्पादकत्व तथा आर्थिक विकास केन्द्र(एपीओ) को निर्देशकको दोहोरो भूमिका निर्वाह गर्दैआएका थिए ।

उक्त केन्द्रले विदेशमा उद्योगीहरुको बृत्तिविकासको लागि तालिम लगायतका काम गर्दैआएको छ । हरेक एपीओको कार्यक्रममा आफ्नै नाम सिफारिस गरेर उद्योग मन्त्रालयमा बसेर छोटो समयमै दर्जन भन्दा बढी देशको भ्रमण गरेर कीर्तिमान कायम गरेका लेखकलाई उद्योग, बाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीको पूर्ण सहयोग रहँदैआएको थियो ।

डब्लुटीओ शाखा समेत हेर्दैआएका लेखकको उक्त शाखा बैदेशिक भ्रमणका लागि महत्वपूर्ण मानिन्छ । दुबैतिरबाट विदेश जाने मौका पाएका उपसचिव लेखकलाई पुनः पुरस्कृत गरी मासिक लाखौं डलर तलब सुबिधा पाउनेगरी अन्तर्राष्ट्रिय मिसनमा पठाइँदैछ ।

त्यस्तै, अर्का उपसचिव लीलाधर अधिकारी पनि मन्त्रालय आएको छोटो समयमै अन्तर्राष्ट्रिय मिसनमा जाने भाग्यमानीमा दरिएका छन् । लेखक र लीलाधरको ठाउँमा जानका लागि उपसचिव सिर्जना तिवारी, तर्कराज भट्ट र बुद्धिप्रसाद उपाध्यायले ठूलो कसरत गरेका थिए । तर उनीहरुको जोड चलेन, लेखक र लीलाधरले बाजी मारेका छन् ।

सिर्जना पटक पटक अन्य मन्त्रालयमा सरुवा भए पनि जेनेभा र कोलकाता जानका लागि उद्योगमै थमौती हुँदैआएकी थिइन् । उद्योग सचिव कृष्णबहादुर राउतले तिवारीलाई कोलाकाता र जेनेभा पठाउन प्रयास गरे पनि उनले समेत सकेनन् । आश्वासन दिएर पनि पठाउन नसकेपछि अहिले तिवारी मन्त्री र सचिवप्रति रुष्ट भएकी छन् ।

यसअघि पनि जेनेभा र कोलकाताको बाणिज्यदूतमा दुई शक्तिशाली उपसचिवहरुले नै मौका पाएका थिए । तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवा र उद्योग मन्त्री दिलेन्द्र बडुका पीएले कोलकाता र जेनेभाको कन्सुलर भएका थिए ।

२०७९ साउनमा तत्कालीन उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दिलेन्द्र बडुले कार्यबिधि मिचेर आफ्ना निजी सचिवसमेत रहेका उपसचिव दुर्गा भूसाललाई जेनेभाको (कन्सुलर) पदमा पठाउने निर्णय गरेका थिए । भूसाल राष्ट्रपति रामचन्द्र पौडेलका सम्धी युवराज भूसालका भाइ भएकैले अवसर पाएको चर्चा भएको थियो ।

२०७९ मा तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाले निजी सचिव जनक भट्टलाइ कलकत्ताको कन्सुलरमा पठाएका थिए ।

विगतमा बाणिज्य मन्त्रालयले जेनेभा र कलकत्ता पठाउनका लागि कार्यबिधि बनाएर त्यसअनुरुप पठाउने गरेकोमा केही बर्षदेखि शक्ति र पहुँच हुने उपसचिवहरुलाई मात्र पठाउने गरिएको गुनासो छ । यी दुवै निकायमा मापदण्ड अनुसार बाणिज्य क्षेत्र बुझेका व्यक्तिलाई पठाउने गरिन्थ्यो । तर, पछिल्ला दिनमा आफ्ना निकटका व्यक्तिलाई पठाउने गरिएको छ । लामो समय बाणिज्य मन्त्रालयमा काम गरेका उपसचिवले मौका नै नपाएपछि यी पद पहुँचवालाका निकट हुन सक्ने उपसचिवका लागि मात्र हुन् भन्ने भाष्य निर्माण भएको छ ।

प्रतिक्रिया दिनुहोस्