काठमाडौं । साताको तेस्रोकारोबारको दिन मङ्गलवार सेयर बजार नेप्से परिसूचक घटेर बन्द भएको छ । सोमबार बढेर बन्द भएको नेप्से, आज भने घटेर बन्द भएको हो ।

नेप्से परिसूचक १९.८९ अङ्क घटेर २७४१.४७ विन्दुमा झरेको छ । त्यस्तै, सेन्सेटिभ इण्डेक्स २.६९ अङ्क घटेको छ भने फ्लोट इण्डेक्स १.२३ अङ्क र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.९८ अङ्क घटेको छ ।
नेप्सेसँगै आज कारोबार रकम पनि घटेको छ । सोमबार ५ अर्ब १० करोड रुपैयाँबराबरको सेयर खरिदबिक्री भएको बजारमा ३२३ स्टकको ८९ हजार ७७५ पटकको कारोबारमा ४ अर्ब ४३ करोड ८२ लाख ५१ हजार रुपैयाँबराबरको १ करोड ५ लाख ३५ हजार कित्ता सेयर खरिदबिक्री भएको छ ।
हिम स्टार उर्जा कम्पनीको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । हिजोदेखि दोस्रो बजारमा कारोबारमा आएको यस कम्पनीको सेयर मूल्य २६ रुपैयाँ ७० पैसा बढेर २९४ रुपैयाँ २० पैसामा अन्तिम कारोबार भएको छ । मूल्य बढेका अरू स्टकहरूको वृद्धिदर भने साढे ४ प्रतिशतभन्दा कम रहेको छ । कारोबारमा आएको उन्नति सहकार्य लघुवित्त वित्तीय संस्थाको सेयरमूल्यसर्वाधिक ७.४७ प्रतिशत घटेको छ ।
कारोबार रकमका आधारमा नेपाल पुनर्बीमा कम्पनी शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको २२ करोड ७० लाख रुपैयाँबराबरको सेयर कारोबार भएको छ । त्यस्तै, हिमालयन रि इन्स्योरेन्सको २० करोड रुपैयाँभन्दा बढीको सेयर किनबेच भएको छ भने यूनियन हाइड्रोपावरको कारोबार रकम साढे १४ करोड रुपैयाँ नाघेको छ ।
आज १३ वटै उपसमूहको परिसूचक घटेको छ । जसमध्ये व्यापार उपसमूहको परिसूचक सर्वाधिक १.९७ प्रतिशत घटेको छ । अरू उपसमूहहरूको गिरावट दर भने १ प्रतिशतभन्दा कम रहेको छ ।











