
काठमाडौं । अमेरिकाबाट डिपोर्ट भएका थप ३७ जना नेपाली आज काठमाडौं आइपुग्दैछन् । अमेरिकी सरकारले निष्काषित गरेका उनीहरु आज चार्टर विमानमार्फत काठमाडौं आइपुग्ने नेपालको अध्यागम कार्यालयले जनाएको छ ।
अध्यागमनका अनुसार जनवरीदेखि अगस्टसम्म ८ महिनामा अमेरिकाबाट २ सय १५ जना नेपाली डिपोर्ट भएर आइसकेका छन् । राष्ट्रपति डोनाल्ड ट्रम्पको दोस्रो कार्यकाल सुरु भएयता अमेरिकाबाट नेपालीहरू तेस्रो पटक डिपोर्ट भएर स्वदेश आउन लागेका हुन् ।
यसअघि दुई फरक–फरक चार्टर उडानमार्फत र नियमित उडानमार्फत नेपालीहरू डिपोर्ट भएर आएका थिए । यसअघि अमेरिकाले २१ फागुन २०८१ मा डिपोर्टमा परेका ७ पुरुष र १ महिला सहित ८ जना चार्टर विमानमार्फत नेपाल पठाएको थियो ।
यस्तै २४ जेठमा ३२ पुरुष र ५ महिला गरेर ३७ जना नेपालीलाई अमेरिकाले ओम्नी एयर इन्टरनेसनलबाट नेपाल पठाएको थियो । डिपोर्टमा परेका नेपाली लिएर बुधबार आउन लागेको चार्टर जहाज तेस्रो हो । यसका अलवा डिपोर्ट भएका १७० जना भने नियमित उडानमार्फत नेपाल आइपुगेका हुन् ।
जनवरीमा ६, फेब्रुअरीमा १८, मार्चमा ३२, अप्रिलमा २६, मे मा ५८, जुनमा ४२, जुलाइमा १७ र अगस्तमा १६ नेपाली डिपोर्ट भइ नेपाल फर्किसकेका छन् । डिपोर्ट भएकामध्ये १९७ पुरुष र १८ महिला रहेका छन् ।
२० जनवरी २०२५ मा दोस्रो कार्यकालको पदभार सम्हालेसँगै राष्ट्रपति ट्रम्पले गैरकानुनी रूपमा बसोबास गर्दै आएका नेपालसहितका आप्रवासीहरूलाई निष्कासन गर्ने नीति अगाडि बढाइरहेका छन् ।
ट्रम्प प्रशासनले त्यहाँको ‘इमिग्रेसन एन्ड कस्टम इन्फोर्समेन्ट’ (आईस) मार्फत नेपालसहित विभिन्न मुलुकमा गैरकानुनी बसोबास गर्ने आप्रवासीलाई पक्राउ गरी निष्कासनको अभियान नै चलाएको छ ।














