
काठमाडौं । काठमाडौंको गोङ्गबुबाट बरामद भएको रकम ४ करोड बढी रहेको पुष्टि भएको छ ।
नेपाल प्रहरीका अनुसार मंगलबार रातिसम्म गरेको गणनामा बरामद रकम ४ करोड २५ लाख ५० हजार रुपैयाँ रहेको पाइएको होे । त्यस्तै ९ किलो ३९ ग्राम सुनका गहना र ३ किलो २१ ग्राम चाँदीका गहना पनि प्रहरीले बरामद गरेको छ ।
काठमाडौँ परिसरका प्रवक्ता एसपी अपीलराज बोहराले बरामद भएको रकम ४ करोड २५ लाख ५० हजार र ९ किलो ३९ ग्राम सुन र ३ किलो २१ ग्राम चाँदीका गहना बरामद गरिएको जानकारी दिए ।
काठमाडौँ महानगरपालिका–२६ गोङ्गबुस्थित ७६ वर्षीय विनोदकुमार श्रेष्ठको घरमा नगद र सुन रहेको जानकारी पछि प्रहरीले छापा मारेको थियो ।
श्रेष्ठको घरमा अवैध रुपमा लुकाएर राखिएको नगद र सुन प्रहरीले बरामद गरेको थियो । यी गहना धितोमा राखेर उनले मिटरब्याजमा रकम लेनदेन गर्ने खुलेको छ । श्रेष्ठलाई प्रहरीले पक्राउ गरेर थप अनुसन्धान अगाडी बढाएको छ ।














