काठमाडौं । संसदीय सुनुवाइ समितिको सभापति चयनका लागि भोलि (शुक्रबार) निर्वाचन हुने भएको छ । त्यसका लागि आज दिउँसो २ बजेदेखि ४ बजेसम्म मनोनयन दर्ताको समय छ । सुनुवाइ समितिकी सहसचिव निर्मलादेवी लामिछाने वस्तीका अनुसार शुक्रबार साँझ ५ बजे निर्वाचन हुँदैछ ।

सुनुवाइ समिति सभापतिको पद यही १० भदौदेखि रिक्त छ । सुनुवाइ समितिका तत्कालीन सभापति ईश्वरीदेवी न्यौपानेले राजीनामा दिएपछि उक्त पद खाली रहेको छ ।
न्यौपाने सुनुवाइ समितिको सभापतिबाट राजीनामा दिएर राज्य व्यवस्था तथा सुशासन समितिकी सभापति भएकी छन् । संघीय संसदको संयुक्त बैठक र संयुक्त समिति (कार्यसञ्चालन) नियमावलीका नियम २५ मा राजीनामा दिएमा सभापति पद रिक्त हुन सक्ने लगायतका प्रावधान छ ।
रिक्त भएको पदमा पुनः पदपुर्ति गर्ने सम्बन्धी व्यवस्था संयुक्त समिति कार्यसञ्चालन नियमावलीमा छैन । तर, संघीय संसदको संयुक्त बैठक र संयुक्त समिति कार्यसञ्चालन नियमावलीको नियम ४४ मा संयुक्त समिति कार्यसञ्चालन नियमावलीमा नभएका विषय प्रतिनिधि सभा नियमावली बमोजिम हुने भनिएको छ ।
प्रतिनिधिसभा नियमावलीमा संसदीय विषयगत समितिको सभापति पद रिक्त भएको १५ दिन भित्र निर्वाचन गरिसक्नुपर्ने प्रावधान छ ।














