Logo
Logo

गोदावरीमा एमालेजनको चहलपहल


378
Shares

काठमाडौं । नेकपा एमालेको दोस्रो विधान महाधिवेशन स्थलमा बिहानैदेखि चहलपहल छ । विधान महाधिवेशनमा सहभागीहरुको स्वागतमा एमाले कार्यकर्ताहरु साँस्कृतिक झाँकीसहित उपस्थित भएका छन् ।

सहभागीहरु आ–आफ्नो मौलिक भेषभूषामा सजिएका छन् । सारंगी, ढोलसहितका परम्परागत बाजा र सांस्कृतिक पहिरनसहित उनीहरु उपस्थित छन् । त्यहाँ नेपालको सांस्कृतिक विविधता देखिन्छ ।

ललितपुरको गोदावरीस्थित सनराइज सम्मेलन केन्द्रमा एमालेले दोस्रो विधान महाधिवेशन आयोजना गरेको छ । अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले विधान महाधिवेशन उदघाटन गर्नेछन् ।

दोस्रो विधान महाधिवेशनमा २ हजार २६ जना प्रतिनिधि र आयोजकका हैसियतमा ३१५ जना थप गरी कुल २३ सय ४१ जनाको सहभागी रहने छन् । स्वयंसेवक, सुरक्षा निकायसहित ३५ सय जनालाई खानाको व्यवस्था गरिएको छ ।

गोदावरीको मूल सडकदेखि सभा हलको प्रवेशद्वारसम्म प्रतिनिधि, पर्यवेक्षक, सर्वसाधारणलाई स्वयंसेवकहरूले व्यवस्थित गरिरहेका छन् । प्रतिनिधि, पर्यवेक्षक, सञ्चाकर्मी र सर्वसाधारणको सवारी साधारणका लागि मूल सडक छेउमै पार्किङको व्यवस्था मिलाइएको छ ।

हलभित्र स्थायी, पोलिटव्युरो, केन्द्रीय सदस्य, आयोगका प्रमुख र प्रतिनिधिका लागि प्रदेश अनुसारको सिट व्यवस्थापन गरिएको छ । हलभित्र सरसफाइ, सिट व्यवस्थापन, डिजिटल, सुरक्षा प्रबन्ध, प्राविधिक पक्षको परीक्षण भइरहेका छन् । हलभित्र उप महासचिव विष्णु रिमाल र मञ्च व्यवस्थापनका संयोजक पोलिटव्युरो सदस्य विनोद श्रेष्ठले नेतृत्व गरेका छन् ।

ठूलो डिजिटल बोर्ड अगाडि १८ पदाधिकारीका लागि कुर्सी व्यवस्थित गरिएको छ । दुवैतिर पार्टीको झण्डा र राष्ट्रिय झण्डाले मञ्च सजाइएको छ । मञ्चको दायाँ–वायाँ टुँडाल शैलीमा साना डिजिटल बोर्ड राखिएको छ । त्यसका साथै मञ्चको वायाँतिर पुष्पलाल, मनमोहन अधिकारी र मदन भण्डारीको तस्विर राखिएको छ । दायाँतिर कार्ल माक्र्स, एङ्गेल्स र लेनिनको तस्विर राखिएको छ ।

प्रत्यक्ष प्रसारणसहित बाहिर मिडिया सेन्टरमा डिजिटल बोर्ड राखिको छ । हलको दायाँ–वायाँ झ्यालमा ‘जनताको बहुदलीय जनवाद जिन्दावाद’को नारासहित दुईवटा ठूला डिजिटल बोर्ड राखिएको छ ।

प्रतिक्रिया दिनुहोस्