काठमाडौं । नेकपा एमालेको दोस्रो विधान महाधिवेशन ललितपुरको गोदावरीमा शुक्रवारदेखि सुरु भएको छ । उद्घाटन सत्रमा पार्टी अध्यक्ष केपी शर्मा ओलीले पूर्वराष्ट्रपति विद्या भण्डारीको सदस्यता विषयमा कुनै छलफल नहुने स्पष्ट अडान राखेका छन् ।

उनले विधान महाधिवेशनसँग असम्बन्धित विषयहरूलाई अनावश्यक रूपमा संवेदनशील बनाइएको भन्दै पार्टीको ध्यान विधान संशोधन र सङ्गठन सुदृढीकरणमा केन्द्रित हुने बताए । महाधिवेशनको उद्घाटन समारोहमा ओलीले पार्टीको आन्तरिक एकता र अनुशासनलाई जोड दिँदै विधान महाधिवेशनले एमालेको वैचारिक र सङ्गठनात्मक आधारलाई थप मजबुत बनाउने दाबी गरे ।
यद्यपि, महाधिवेशनस्थलमा विद्या भण्डारीको सन्देश भन्दै हजारौँ चिठी वितरण भइरहेको छ । आयोजकका अनुसार ८ देखि १० हजार चिठी बाँड्ने लक्ष्य राखिएको छ, जसले महाधिवेशनमा थप चर्चा र विवादको सम्भावना देखाएको छ । महाधिवेशनमा एमालेले पार्टीको विधान संशोधन, नीति र नेतृत्व चयनको आधार तय गर्ने लगायतका एजेन्डामा छलफल गर्ने जनाएको छ ।














