काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले एमाले नेताहरूलाई आफूले पठाएको पत्र अध्ययन गरेर सुझाव दिन अनुरोध गरेकी छन् । शुक्रवारबाट ललितपुरको गोदावरीमा सुरु भएको दोस्रो विधान अधिवेशनमा सहभागी हुन वञ्चित गराइएको भन्दै पूर्वराष्ट्रपति भण्डारीले शुभकामना सन्देश दिँदै चिठी अध्ययन गर्न आग्रह गरेकी हुन् ।

नेकपा एमालेको सचिवालय बैठकले पार्टी सदस्य नरहेको व्यक्ति विधान अधिवेशनमा सहभागी हुन नसक्ने निर्णय गरेको थियो ।
बिहीबार साँझ बसेको सचिवालय बैठकले पार्टीले कसलाई सदस्यता दिने वा नदिने भन्ने विषय केन्द्रीय कमिटीको अधिकार क्षेत्रभित्र पर्ने र पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको सदस्यता नवीकरण नभएको अवस्थामा विधान अधिवेशनमा एजेण्डा पनि बन्न नसक्ने बताएको थियो । पार्टीको सचिवालय बैठकले अधिवेशनमा जान रोकेपछि भिडियो सन्देश दिँदै भण्डारीले प्रतिनिधिहरूलाई सफलताको शुभकामना व्यक्त गरिन् ।
एमाले र आफ्नो उद्देश्य एउटै भएकाले सबैले मिलेर समृद्ध नेपाल सुखी नेपालीको लक्ष्य पूरा गर्नुपर्ने बताएकी छन् । विधान महाधिवेशनमा उपस्थित हुने पार्टीका सदस्यहरूको उपयुक्त सुझाव र सल्लाह पाउने आशा व्यक्त गरिन् । एमालेको काँधमा देश विकास गर्ने ठुलो जिम्मेवारी रहेको र त्यसलाई पूरा गर्न भावनात्मक, सङ्गठनात्मक रूपमा एकसाथ भएर अघि बढ्न सुझाव दिइन् ।














