विराटनगर । नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले पूर्वराष्ट्रपति र उपराष्ट्रपतिलाई राजनीतिमा फर्किन संविधानले कुनै बाधा नगरेको बताएका छन् । विराटनगर विमानस्थलमा पत्रकारहरूसँग कुरा गर्दै उनले यस्तो धारणा राखेका हुन् ।

पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी नेकपा एमालेको राजनीतिमा फर्किएकी छन्, यद्यपि एमालेले उनको पार्टी सदस्यता नवीकरण नगर्ने निर्णय गरेको छ । यस्तै, पूर्वउपराष्ट्रपति नन्दबहादुर पुन नेकपा माओवादी केन्द्रको सक्रिय राजनीतिमा फर्किसकेका छन् ।
यी घटनाक्रमले पूर्वराष्ट्रपति र उपराष्ट्रपतिजस्ता संवैधानिक पदमा बसेका व्यक्तिहरूको राजनीतिक पुनरागमनलाई लिएर बहस तीव्र भएको छ । पत्रकारले पूर्वराष्ट्रपति र उपराष्ट्रपतिको राजनीतिक संलग्नताले संविधानको औचित्य समाप्त हुने हो कि भन्ने प्रश्न उठाउँदा देउवाले संविधानमा यो विषयमा स्पष्ट व्यवस्था नभएको बताए । उनले भने, ‘मलाई धेरै कुरा थाहा छैन । संविधानमा (राजनीतिमा फर्किन) पाइन्छ भनिएको पनि छैन, पाइन्न भनिएको पनि छैन । ‘
देउवाले संविधान संशोधनका लागि दुई तिहाइ बहुमत आवश्यक रहेको र त्यसका लागि दलहरूबीच छलफल भइरहेको बताए । तर, उनले संविधान संशोधनको प्रक्रिया र यसको आवश्यकताबारे ठोस योजना प्रस्तुत गरेनन् । यस्तै, उनले वर्तमान सरकारबाट आफ्नो पार्टीका मन्त्रीहरूलाई फिर्ता नबोलाउने र नयाँ मन्त्री पठाउने विषयमा कुनै छलफल नभएको स्पष्ट पारे ।














