काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले कुनै पनि पार्टी गलत नहुने तर पार्टीमा आबद्ध व्यक्ति गलत हुने बताएका छन् । शनिवार नेपाली कांग्रेस काठमाडौं महानगर-३० कार्यसमितिले आयोजना गरेको ‘बिपीको विचार र वर्तमान नेपालको राजनीति’ विषयक कार्यशाला गोष्ठीलाई सम्बोधन गर्दै उनले कांग्रेसभित्र शुद्धीकरण आवश्यक रहेको बताएका हुन् ।

उनले भने, ‘कांग्रेस स्थापनाकालदेखिकै राष्ट्रिय पार्टी हो । व्यक्तिले गरेको गल्ती पार्टीले भोग्दैन र जिम्मा लिँदैन, जसले गल्ती गर्छ त्यसैले भोग्नुपर्छ ।’
यसैगरी, महामन्त्री थापाले बिपीको विचार आज पनि उत्तिकै सान्दर्भिक रहेकाले बिपीलाई सम्झनुपर्ने अवस्था भएको उल्लेख गरे । उनले बिपीको सिद्धान्तअनुसार पार्टी र अग्रज नेताहरूले काम गर्नुपर्नेमा जोड दिए ।
उनले भने, ‘कांग्रेस डर र लोभबाट मुक्त हुनुपर्छ। कांग्रेस सरकारमा रहनु नरहनु ठूलो कुरो होइन । हामी चुनावमा हार्छौँ कि भन्ने डरले गठबन्धन गरेर अर्काको चुनाव चिह्नमा भोट हाल्ने सहमति गर्नुपर्ने लोभबाट बाहिर निस्कनुपर्छ ।’
कार्यक्रममा नेपाली कांग्रेस काठमाडौं महानगर–३० कार्यसमितिका सभापति दलबहादुर कार्की, काठमाडौं-४ प्रदेश ‘क’ का सभापति विमलकुमार होडालगायत नेताहरूले बिपीको योगदान र वर्तमान राजनीतिक अवस्थाबारे आफ्ना विचार राखेका थिए ।














