जेरुसेलम । इजरायली सेनाले गाजा सहरका बासिन्दाहरूलाई शनिबार योजनाबद्ध आक्रमणअघि यस क्षेत्र छोड्न निर्देशन दिएको छ । सेनाले आक्रमणका लागि कुनै समय–सीमा नतोकी आक्रमणको घोषणा गरेको जनाइएको छ ।

घोषणालाई आत्मसाथ गरी मानवीय क्षेत्रबाट चाँडै सर्न सैन्य प्रवक्ता अविचाय अद्राईले सामाजिक सञ्जालमार्फत् निर्देशन दिएका हुन् । गाजाको दक्षिणी तटमा रहेको अल–मवासीमा खाना, शिविर, औषधि र चिकित्सा उपकरणको निरन्तर आपूर्तिको साथै घुम्ती अस्पताल, पानी लगायतका सुविधाहरु भएको सेनाले बताएको छ ।
अल–मवासीमा संयुक्त राष्ट्र र अन्तर्राष्ट्रिय संस्थाहरूसँगको सहकार्यमा राहत सहयोगका प्रयासहरू निरन्तर जारी रहनेसमेत जनाइएको छ । सुरुवाती समयमा इजरायलले अल–मवासीलाई सुरक्षित क्षेत्र घोषणा गरेको थियो, तर नागरिकहरूबिच लुकेका हमास लडाकुहरूलाई लक्षित गरेको भन्दै हाल त्यहाँ बारम्बार आक्रमण गरिरहेको छ ।
स्थानीय बासिन्दाहरुले कोही वस्ती खाली गर्न भन्ने र कोहीले बस्नुपर्ने बताएपछि दोहोरो आक्रमणको त्रासबीच हाल उनीहरु रिमल क्षेत्रको एउटा शिविरमा शरण लिइरहेको जनाएका छन् ।
अमेरिका ‘गम्भिर वार्ता’मा
लगभग दुई वर्षको द्वन्द्व अन्त्य गर्न बढ्दो अन्तर्राष्ट्रिय दबाबको बाबजुद गाजा सहर वरपर आफ्नो कारबाही बढाउँदै गर्दा इजरायली सेनाले प्यालेस्टिनी नागरिकहरूलाई वस्ती छोड्न निर्देशन गरेको छ ।
हमासले गत महिना अस्थायी युद्धविराम र चरणबद्ध बन्धक मुक्तिको प्रस्तावमा सहमति जनाएको थियो । यसैवीच, इजरायलले आतङ्कवादी समूहलाई सबै बन्धकहरूलाई एकैचोटि रिहा गर्न, अन्य सर्तहरूसहित निरस्त्रीकरणको माग गरेको छ । शुक्रबार ह्वाइट हाउसमा पत्रकारसमक्ष राष्ट्रपति डोनाल्ड ट्रम्पले गाजाका बन्दीहरूको विषयलाई लिएर अमेरिकाले हमाससँग वार्ता गरिरहेको बताएका थिए ।
गत महिना अनिकाल घोषणा गरेको गाजा सहर र वरपर करिब १० लाख मानिसहरू रहेको संयुक्त राष्ट्रसङ्घको अनुमान छ । यदि आक्रमण जारी रह्यो भने यसले ‘प्रकोप’ निम्त्याउने चेतावनीसमेत राष्ट्रसङ्घले दिएको छ । इजरायलले आक्रमणले दस लाख मानिसहरूलाई विस्थापित गर्ने अपेक्षा गरेको बताएको छ ।











