
काठमाडौँ । भगवानको मन्दिर भएर पनि भ्रष्टाचारको पहाडमा फसेको पशुपति विकाश कोषमा नयाँ सदस्य सचिवको खोजी तीव्र रुपमा भइरहेको छ ।
यही भाद्र १८ गतेदेखि वर्तमान सदस्य सचिव मिलन कुमार थापाको कार्यविधि सकिएकोले नयाँ सदस्य सचिवको खोजीमा संस्कृति तथा पर्यटन मन्त्री कम्मर कसेर लागेका छन् ।
सदस्य सचिवको कार्यविधि भाद्र १८ देखि पुरा हुने भए पनि भ्रष्टाचार मुद्दा लागेर असार १३ गते देखि नै सदस्य सचिव निलम्बनमा परेर घर बसेका थिए ।
सदस्य सचिव बन्न विभिन्न व्यक्तिहरूलाई स्वार्थ केन्द्रहरुले नाम उचाल्ने, पत्रपत्रिका मार्फत स्टन्ट गर्ने काम भइरहेको छ । हाल सम्म सतहमा देखिएका नामहरूमा डा वासुदेव कृष्ण शास्त्री, विश्वमित्र पौडेल, डम्बर खतिवडा, डा विष्णु ढकाल, शम्भु हरी बास्तोला र हाल कोषका कार्यकारी निर्देशक निमित्त सदस्य सचिव सुभाष चन्द्र जोशी को नाम चर्चामा रहेका छन् ।
कसको पल्ला भारी ?
सदस्य सचिव बनाएर गौशाला स्थित धर्मशालालाई पुन कब्जामा पार्न काठमाडौंका मारवाडी समूहले ओखलढुगाका डा वासुदेव शास्त्रीलाई अधि सारेका छन् । टेलिभिजनमा ज्योतिषको कार्यक्रम चलाउने शास्त्रीले गौशालाको धर्मशालामा कोषसंग मारवाडी समुदाय सँग विवाद पर्दा उनी मारवाडी पक्षको सल्लाहकारको रुपमा सक्रिय थिए ।
उनलाई जसरी पनि सदस्य सचिव बनाउन मारवाडी समूह गत हप्ता मात्र शेर बहादुर देउवा र आरजु देउवाको दरबारमा भनसुन गर्न पुगेको बताइन्छ । उनीहरूले भारतीय राजदूतावासका अधिकारी, केही हिन्दु मठाधिसहरु सँग पनि आशीर्वाद मागिरहेको चाबहिलका एक अग्रवाल बताउँछन् । शास्त्रीको लागी पैसा खर्च गर्न परे पनि आफूहरू तयार रहेको उनीहरू बताउँछन् ।
तत्कालीन संस्कृति तथा पर्यटन मन्त्री सुदन किराँतीको अध्यक्षतामा २०८० साउन १७ गते बसेको पशुपति विकाश कोषको बैठकले गौशालाको धर्मशालाका संचालन समिति सँगको सम्झौता खारेज गरेको थियो । जसको विरुद्धमा धर्मशाला सञ्चालक मारवाडी समूहले त्यसको विरुद्धमा काठमाडौं जिल्ला अदालतमा मुद्दा हालेको थियो । तर अदालतले मागवादी नपुगेको भनी मुद्दा खारेज गरे पछि सो धर्मशाला कोषको मातहतमा आएको थियो ।
काठमाडौं महानगर पालिकाले धर्मशाला खाली गर्न भने पछि त्यहाँ दिनहुँ झडपको स्थिति पैदा भएको थियो । यसैबिच समितिले उच्च अदालतमा दिएको निवेदन उपर फैसला गर्दै उच्च अदालतले तत्कालका लागि नहटाउन अल्पकालीन अन्तरिम आदेश दिएको थियो । सो मुद्दालाई आफ्नो पक्षमा पार्न अनुकूल पात्रको रुपमा डा शास्त्रीलाई लिएर मारवाडी समूह लागी परेको श्रोत बताउँछन् ।
पशुपतिको गंगा आरतीका अध्यक्ष समेत रहेका शास्त्रीले आर्थिक हिनामिना गरेको आरोपमा अख्तियारको दबाबमा कोषले स्पष्टीकरण समेत सोधेको कर्मचारीहरू बताउँछन् । यसै गरी चर्चामा नाम आएका अन्य उम्मेदवारहरू पनि शुद्ध सफा छविका नभएर कसैले उचालेका पात्रका रुपमा देखा परेको बताइन्छ ।
पशुपति विकाश कोष भित्रको बेतिथिलाई हटाउने हो भने व्यवस्थापन र प्रशासनमा निपुर्ण भ्रष्टाचारमा शून्य सहनशीलता भएको व्यक्तिको खोजी हुन आवश्यक रहेको कोषका कर्मचारी, पर्यवेक्षहरु बताउछन । तर हाल सम्म पैसाको बिटो बुझाउन सक्ने, धार्मिक र पुरोहित को आवरणमा शक्ति केन्द्र रिझाएर आउने मात्र सदस्य सचिव बन्ने गरेका छन् ।
हाल सम्म स्वधोषित चर्चामा आएका व्यक्तीहरु भन्दा पृथक् तर चर्चामा नआएका पात्र हालका कार्यकारी निर्देशक तथा निमित्त सदस्य सचिव शुभाष चन्द्र जोशी पनि एक हुन । जोशी एक वर्ष अगाडि खुल्ला प्रतिस्पर्धाबाट कोषको कार्यकारी अधिकृतमा नियुति भएका थिए । यस भन्दा अधि कहिल्यै सरकारी जागिर नखाएका जोशी विगत दुई दशक देखि शैक्षिक क्षेत्रमा प्राध्यापक तथा व्यवस्थापनमा दक्ष व्यक्ती मानिन्छन् । उनी कोषमा आए पछि प्रशासन र व्यवस्थापनमा निकै सुधार आएको कर्मचारीहरू बताउँछन ।
जोशी आउनु अधि भएको विभिन्न आर्थिक अनियमिततामा परेर वर्तमान सदस्य सचिव मिलन कुमार थापा,निमित्त सदस्य सचिव राजु खत्री लगायत कोषका कार्यकारी निर्देशक घनश्याम खतिवडा, उप निर्देशक रेवतरमण अधिकारी, निमित्त उपनिर्देशक सीताराम रिमाल लगायत तिन इन्जिनियर, कानुनी सल्लाहकार, लेखाअधिकृतहरु गरी जम्मा १२ जना विरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको छ ।
शव दाह गृहको मेशिन खरिदमा भ्रष्टाचार गरेको आरोपमा प्रतिवादी विरुद्ध १० करोड,३३ लाख,९१ हजार ३० रुपैयाँ बिगो कायम गरी मुद्दा चलाएको छ । साउन १८ गते मुद्दा दायर भए पछि सबै जना निलम्बनमा परे पछि जोशीलाई निमित्त सदस्य सचिवको कार्यभार पनि सुम्पिएको छ ।
निमित्त सदस्य सचिव भए पछि उनले व्यवस्थापन गरेको हालै सम्पन्न तिज पर्व ज्यादै व्यवस्थित भएको कुरा स्थानीयहरू र दर्शनार्थीहरुले वताएका थिए । दुई दशक देखि ओशोको सन्यासी भएर आध्यात्मिक क्षेत्रमा लागेर ध्यान साधना पनि गर्दै आएका जोशी आफू सँग कोषलाई चलाउने नयाँ योजना, जोस, जाँगर भए पनि कसैलाई रिझाउन पैसा वाढ्न नसक्ने भएकोले सदस्य सचिव हुन कठिन हुने स्पष्ट बताउँछन ।














