काठमाडौं । साताको पहिलो कारोबार दिन आइतबार नेप्से परिसूचक घटेर बन्द भएको छ । पछिल्ला तीन कारोबार दिनदेखि घटिरहेको नेप्सेले आइतबार पनि सोही क्रमलाई निरन्तरता दिएको हो ।

आज नेप्से परिसूचक ११.५२ अङ्क घटेर २७०८.२५ विन्दुमा झरेको छ । त्यस्तै सेन्सेटिभ इण्डेक्स २.३२ अङ्क घटेको छ भने फ्लोट इण्डेक्स ०.७७ अङ्क र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.६६ अङ्क घटेको छ ।
नेप्सेसँगै आज कारोबार रकम पनि घटेको छ । अघिल्लो कारोबार दिन अर्थात् गत बिहीबार ५ अर्ब १४ करोड रुपैयाँबराबरको सेयर खरिदबिक्री भएको बजारमा ३३४ स्टकको ५८ हजार ८७ पटकको कारोबारमा ४ अर्ब ४० करोड २७ लाख ६७ हजार रुपैयाँबराबरको १ करोड ११ लाख २४ हजार कित्ता सेयर खरिदबिक्री भएको छ ।
हिम स्टार उर्जा कम्पनीको सेयरमूल्य सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। सो कम्पनीको सेयरमूल्य ९.९७ प्रतिशत अर्थात् ३५ रुपैयाँ ५० पैसा बढेर ३९१ रुपैयाँ ४० पैसामा अन्तिम कारोबार भएको छ । त्यस्तै, एनआईबिएल समृद्धि फण्ड २ को इकाईमूल्य ५.८३ प्रतिशत बढेको छ भने युनिभर्सल पावर कम्पनीको सेयरमूल्य ५.१२ प्रतिशत बढेको छ । कारोबारमा आएको पञ्चकन्या माइ हाइड्रोपावरको सेयरमूल्य सबैभन्दा बढी ४.६२ प्रतिशत घटेको छ ।
कारोबार रकमका आधारमा यूनियन हाइड्रोपावर शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको २९ करोड ९९ लाख रुपैयाँबराबरको सेयर किनबेच भएको छ । त्यस्तै, नेपाल पुनर्बीमा कम्पनीको करिब साढे २७ करोडको सेयर कारोबार भएको छ भने एभरेष्ट बैंकको कारोबार रकम २२ करोड नाघेको छ ।
१३ उपसमूहमध्ये ३ उपसमूहको परिसूचक बढेको छ भने १० उपसमूहको परिसूचक घटेको छ । आज वित्त, उत्पादन तथा प्रशोधन र म्युचुअल फण्ड उपसमूहको परिसूचक सामान्य बढेको हो । जलविद्युत उपसमूहको परिसूचक ०.६८ प्रतिशत घटेको छ भने बैंकिङ्ग उपसमूहको ०.६५ प्रतिशत घटेको छ ।











