Logo
Logo

देशभर मनसुनको प्रभाव, यी प्रदेशमा वर्षाको सम्भावना


63
Shares

काठमाडौं । हाल देशभरि मनसुनको प्रभाव रहेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल मनसुनको न्यूनचापीय रेखा सरदर भन्दा दक्षिणतिर अवस्थित रहेको छ ।

सोमबार बिहान कोशी, मधेस, बागमती, गण्डकी र कर्णाली प्रदेशका विभिन्न भूभागहरूमा वर्षा भइरहेको छ । महाशाखाका अनुसार सिन्धुपाल्चोकको मेलम्ची घ्याङमा पछिल्लो एक घन्टायता १०.२ मिलिमिटर वर्षा भएको छ। त्यस्तै सिन्धुपाल्चोकको तार्के घ्याङमा ९ मिलिमिटर वर्षा भएको छ । मोरङको लेटाङमा ६.६ मिलिमिटर, ताप्लेजुङमा ६.४ मिलिमिटर, धनकुटाको मुलघाटमा ४.२ मिलिमिटर वर्षा भएको छ ।

यस्तै, कास्की, म्याग्दी, मुस्ताङ, लमजुङ, सिन्धुपाल्चोक, दोलखा, झापा, पाँचथर, धनकुटा, सिरहा, उदयपुर, सर्लाहीका विभिन्न भूभागमा छिटपुटदेखि हल्का वर्षा भएको छ । सोमबार दिउँसो देशको पहाडी भू–भागमा साधारणतया बदली र बाँकी भू–भागमा आंशिक बदली रहनेछ ।

दिउँसो देशका पहाडी भू–भागका केही स्थानहरूमा र तराई भू–भागका थोरै स्थानहरूमा मध्यम वर्षाको सम्भावना रहेको छ । दिउँसो नै कोशी प्रदेश र बागमती प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको महाशाखाले जनाएको छ।

राति कोशी प्रदेश, मधेश प्रदेश र बागमती प्रदेशको पहाडी भू–भागमा साधारणतया बदली र बाँकी भू–भागमा आंशिक बदली रहनेछ ।

महाशाखाका अनुसार राति कोशी प्रदेश, मधेश प्रदेश र बागमती प्रदेशको पहाडी भू–भागका केही स्थानहरूमा र बाँकी पहाड र तराई भू–भागका थोरै स्थानहरूमा मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी प्रदेशका पहाडी र तराइ भू–भागका एक–दुई स्थानमा राति पनि भारी वर्षाको पनि सम्भावना रहेको महाशाखाले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्